Prakash Adhikari April 8, 2020

 

काठमाडौं, २६ चैत्र । नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको सुरुआती सार्वजनिक सेयर बुधबार बाँडफाँड भएको छ।

उक्त कम्पनीको बिक्री प्रबन्धक रहेको आरबीबी क्यापिटलले उक्त कम्पनीको ४० कित्तासम्म सेयर भर्नेले माग गरेजति पाएको र ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्नेमध्ये ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता सेयर पाएको बताएको छ।

पुनर्बीमा कम्पनीको सेयरको लागि कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको थियो। त्यो बाहेकका ३ लाख ९० हजार ६ सय ३८ आवेदकलाई सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

जसअनुसार १० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता, २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता, ३० कित्ताको लागि आवेदन दिने १ लाख २७ हजार ७ सय २३ जनाले ३० कित्ता नै सेयर पाएका छन्। ४० कित्ताको लागि आवेदन दिने २० हजार ९ सय २९ जनाले ४० कित्ता सेयर पाएका छन्।

त्यसैगरी, ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्ने ३ लाख १३ हजार ६ सय ४८ जनाले ४० कित्ता सेयर पाएका छन् भने सोही अनुपातमा आवेदन गनेमध्ये ७७ हजार २ सय ४५ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर थप गरी ५० कित्ता सेयर बाँडफाँड गरिएको क्यासिपटल्सले जनाएको छ।

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो। जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि यस अघि नै बाँडफाँड गरिसकेको छ।

बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियो। सोहि सेयर कम्पनिले बुधबार बाँडफाँड गरेको हो।

Share Now

Leave a comment.