काठमाडौँ, २६ चैत्र । कांग्रेस युुवानेता एवं सांसद गगन थापाले वैयक्तिक स्वतन्त्रता र जीवनमध्ये एक रोज्न आग्रह गरेर प्रधानमन्त्रीले देशवासीलाई के भन्न खोज्नुभएको हो भन्ने स्पष्ट पार्न अनुरोध गर्नुभएको छ ।
उहाँले बुधबार ११ बूँदे पत्र लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले मंगलबार देशवासीको नाममा गर्नुभएको संबोधनका अस्पष्टताप्रति ध्यानाकर्ष गराउनु भएको छ ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका सांसद थापाले सरकारले गर्ने र्यापिड टेष्टको प्रोटोकल,नमुना संकलन गर्ने विधि, टेष्ट गरिने स्थान, आवश्यक जनशक्ति, तालिम र सुरक्षाको तयारीको बारेमा जिज्ञासा राख्नुभएको छ ।
उहाँ कन्ट्याक्ट ट्रेसिङ र अभिलेख संकलनको अवस्था,पद्धति,टीम,तालिम,तथ्यांकको विश्लेषण क्षमता र त्यसको निश्कर्षको आधारमा चालिने कदमको बारेमा पनि जिज्ञासा राख्नुभएको छ ।
सांसद थापाले देशभर ३० हजार बेड उपलब्ध भएको र ९ हजारमात्र प्रयोगमा आएको बताउनुभएकोले सीमामा अड्किएका जम्मा ३ हजार नेपाललाई देशमा ल्याएर क्वारेन्टिनको न्यानो र सुरक्षा दिन किन बिलम्ब गरिएको भन्ने प्रश्न पनि उठाउनु भएको छ । उहाँले सीमा क्षेत्रमा अलपत्र परेका अधिकांश नेपालीहरु भारतको लकडाउन सकिने बित्तिकै नेपाल छिर्ने संभावना औल्याउदै तिनको उचित व्यवस्थापनको तयारी गर्न पनि सुझाव दिनुभएको छ ।
पूर्व स्वास्थ्य मन्त्री सांसद थापाले विभिन्न राष्ट्रहरुमा रहेको नेपाली दुतावासहरुले रोजगारीको सिलसिलामा सुदूर प्रवासमा रहेका लाखौं नेपालीहरुको सुरक्षार्थ के कस्तो योजना र व्यवस्थाका साथ काम गरिरहेका छन् भन्ने पनि प्रश्न उठाउनु भएको छ ।
युवा नेता गगनले स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री(पीपीइ) को उपलब्धता, जगेडा र थप सामग्रीको आवश्यकताको बारेमा प्रश्न उठाउदै लडडाउनको समयमा अग्रपडि.तमा रहेर काम गरिरहेका सुरक्षाकर्मीहरुको स्वास्थ्य सुरक्षामा पनि चासो राख्नुभएको छ ।
उहाँले काठमाडौं उपत्यका र प्रदेशहरूका अस्पताल केन्द्रित जनशक्ति, उपकरण, औषधि र पूर्वाधार कुन अवस्थामा राखिएको छ भन्ने प्रश्न पनि उठाउनुभएको छ ।
उहाँले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी र अवलम्बन कसरी भएको र किसानलाई कसरी राहत दिइएको छ भनेर पनि सोध्नुभएको छ ।
उहाँले सरकार राज्यका विभिन्न संयन्त्रहरुको तर्कसंगत उपयोग गर्ने मामिलामा पनि चुकेको आरोप लगाउदै विपदको यो अवस्थामा सैन्य संयन्त्रको विशेषज्ञता, निपुणता तथा जिम्मेवारी पनि रहेको क्षेत्रमा त्यसलाई उपयोग नै नगरिएको गुनासो गर्नुभएको छ । तर आर्थिक स्वार्थ भएको र नागरिक सरकारले नै विदेशी सरकारसंग लिन सक्ने र भरसक सैनिकलाई सहभागी नै गराउन नहुने खरिद प्रक्रियामा भने सेनाको दुरुपयोग गरिएकोमा पनि प्रश्न उठाउनुभएको छ ।
उहाँले विश्व महामारीको रुपमा फैलिएको र त्यसलाई रोक्ने सावधानीका उपाय अपनाउदा नेपालमा आइपरेको लकडाउनको संकटलाई आम नागरिक, प्रतिपक्षसहित सबै राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक सहयोग गर्दै सरकारलाई साथ दिएको समयमा विपक्षीले उठाएका जनताका चासोलाई ‘निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी र बेमौसमी बाजा भनेर उपेक्षा गरिएको पनि प्रश्न उठाउनु भएको छ ।
सांसद थापाले प्रधानमन्त्रीलाई लेख्नुभएको ११ बूँदे ध्यानाकर्षण प्रश्न जस्ताको तस्तै :





















