Prakash Adhikari April 10, 2020

काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाभाइरसको संक्रमणका कारण नेपालको आर्थिक क्षेत्रमा पर्ने संभावित असर र त्यसको समाधानको मार्गचित्र पहिल्याउनका लागि देशका अर्थविद्हरुसंग परामर्श गर्नुभएको छ ।

उहाँले बिहिबार आफ्नै निवास बोहोराटारबाट भिडियो कन्फरेन्समार्फत विज्ञहरुसंग छलफल गर्नुभएको हो ।

उहाँले योजना आयोगका पूर्व उपाध्यक्षहरु डा.गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले, प्रो. डा. इन्जिनियर कमल रिजाल, डा. सुरज पोखरेल, डा. सिद्धिगणेश श्रेष्ठ, डा. माधवप्रसाद पौडेल, डा.प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाँईसंग कोरोनाभाइरसको संक्रमणबाट देशको औद्योगिक, पर्यटन, कृषि, निर्माण व्यवसाय र वैदेशिक रोजगारीका क्षेत्रमा पर्ने असर र त्यसलाई सुधार गर्ने उपायका बारेमा परामर्श गर्नुभएको थियो ।

उहाँसंगको परामर्शमा अर्थ विज्ञहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने सुझाव दिनुभएको थियो ।

छलफल कृषि उत्पादन, कृषि मजदूर, कृषि उपज र त्यसको ढुवानीका विषय पनि समेटिएको थियो ।

विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।

छलफलमा सहभागी डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने उपलब्धिका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने बताउनुभयो ।

छलफलमा वरिष्ठ नेता पौडेलले कृषिमा आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन बढाउने उपायका बारेमा पनि सुझावहरु माग्नुभएको थियो ।

Share Now

Leave a comment.