काठमाडौं, २९ चैत्र । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमणबाट दिनानुदिन मानवीय क्षति बढ्दै गएको सन्दर्भलाई दृष्टिगत गर्दै नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थामा बारे गम्भीर चासो देखाएको छ ।
यसै क्रममा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले चैत्र २७ गते राति नेपाली कांग्रेससँग आवद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष/ संयोजकहरुसँग भिडियो कन्फ्रेन्स सम्पन्न गर्नुभएको छ ।
नेपाली कांग्रेसले जनाए अनुसार उक्त भिडियो कन्फ्रेन्समा २६ देशका जनसम्पर्क समितिका अध्यक्ष/संयोजकहरुले भाग लिनु भएको थियो ।
कन्फरेन्समा संसारभरि नै छरिएर रहेका नेपालीमा कोरोनाभाइरसको संक्रमणको महामारीबाट सिर्जित विभिन्न समस्या र तिनका समाधानको बारेमा छलफल भएको थियो ।
छलफलका क्रममा विभागका प्रमुख भट्टराईले विदेशमा रहेका नेपालीहरुको समस्याका सम्बन्धमा नेपाली कांग्रेस गम्भिर र संवेदनशील रहेको बताउदै विदेशमा रहेका जो जहाँ छन् संबन्धित देशमा नै स्वयं क्वारेन्टाइनमा रहेर आफू र आफन्तहरुलाई बचाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले महामारीको बेलामा आफ्नो स्वास्थ्य, खानपान, चालचलन, धार्मिक र सामाजिक गतिविधिमा ख्याल राख्न सुझाव दिनुभएको थियो ।
उहाँले कोरोना भाइरसको संक्रमण देखिएका मुलुकमा रहनुभएका जनसम्पर्क समितिका पदाधिकारीहरुलाई यसको संक्रमणमा पर्नुभएका संबन्धित देशका नेपाली मूलका नागरिकहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको थियो ।
कांग्रेस नेता भट्टराईले यो विश्व संकटका समयमा नेपाली जनसम्पर्क समितिहरुले गरिरहेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै विदेशमा रहेका सबै नेपालीलाई एकतावद्ध भएर कोरोना संक्रमणको बारेका जनचेतना फैलाउन र संक्रमण भएमा उपचारमा सहयोग गर्न समेत आग्रह गर्नु भएको थियो ।
भिडियो कन्फरेन्समा जनसम्पर्क समितिका अध्यक्षहरुले आफू रहेको देशमा भएका समस्याका बारेमा अवगत गराउनुभएको थियो । साथै, उहाँहरुले छलफल अत्यन्त उपयोगी भएको बताउदै यसलाई निरन्तरता दिनु पर्ने जनसम्पर्क समितिका अध्यक्षहरुले सुझाव दिनुभएको थियो ।
कन्फ्रेन्समा नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवं संयोजक आनन्द (गोरख) विष्ट (अमेरिका), पदम सुन्दर गुरुङ्ग (वहराइन), सीता सापकोटा (बेल्जियम), लेखबहादुर गुरुङ्ग (मकाउ), कृष्ण गिरी (अष्टेलिया), वुद्धिप्रकाश ओली (क्यानडा), वीरेन्द्रसिंह कार्की (डेनमार्क), भुवानीप्रसाद तिमिल्सीना (युएई), आस्था विन्दु मल्ल (दक्षिण कोरिया), जितेन्द्र शाही (नर्वे), सुधीर राना (फ्रान्स), श्याम सापकोटा (स्वीजरलैण्ड), शंकर न्यौपाने (कार्यवाहक, कतार), शिखर खड्का (जर्मनी), इन्द्र शर्मा (स्पेन), सालिक चापागाई (कार्यवाहक, ओमान), खगेश्वर अधिकारी (इजरायल), चोलाकान्त पंगेनी (मलेसिया), राजेन्द्र विरही (कुवेत), सीता अर्याल (साइप्रस), विनोद घिमिरे (पोर्चुगल), प्रेम गुरुङ्ग (नेदरलैण्ड), रोशन के.सी. (जापान) लगायत सहभागी हुनहुन्थ्यो ।