काठमाडौं, ६ माघ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रियसभा निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले त्यस्तो आग्रह गरेका हुन । उनले राष्ट्रियसभा निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्ने दायित्व सरकार र सम्बन्धित राजनीतिक दलहरुको रहेको बताए।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रदेश राजधानीको विषयलाई लिएर धनकुटा, धरान, वीरगञ्ज, दाङ, डोटीलगायतका जिल्लामा भैरहेका आन्दोलनप्रति चिन्ता पनि व्यक्त गरे ।
उनले नगर र गाँउपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरु मतदाता रहने राष्ट्रियसभा निर्वाचनमा मतदाताहरुलाई निर्वाध रुपमा मतदान केन्द्रसम्म सुरक्षित तवरले आउने वातावरण तयार पार्न पनि सरकार र राजनीतिक दलहरुसंग आग्रह गरेका थिए ।
उनले हाल विभिन्न स्थानमा भइरहेको आन्दोलन तत्काल स्थगित गराएर राष्ट्रियसभा निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्ने वातावरण बनाउन सरकार र सबै राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराएका छन्।
यही माघ २४ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।
१० गते बुधबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने कार्यतालिका समेत निर्धारित भइसकेको छ।