दमास्कस(सिरिया), ७ माघ (बीबीसी)।टर्कीका युद्ध विमानले उत्तरी सिरियामा कुर्दिश लडाकुमाथि हवाई हमला शुरू गरेका छन्।
उक्त कदमले टर्की र अमेरिकाबीच तनाव बढाउन सक्ने बताइएको छ।
टर्की आफ्नो दक्षिणी सीमासँग जोडिएको आफ्रिन क्षेत्रबाट वाइपीजी लडाकुलाई धपाउन चाहन्छ जुन समूहलाई उसले ‘आतंकवादी’ भन्दै आएको छ।
अमेरिकी समर्थन पाएको वाइपीजीका अनुसार टर्कीको पछिल्लो हवाई हमलामा कम्तीमा ९ जना मारिएका छन्।
हस्तक्षेप
टर्कीले हवाई हमला थालेपछि रूसले आफ्रिनबाट आफ्ना सेना हटाएको छ।
हवाई हमलाप्रति चासो व्यक्त गरे पनि आफूले हस्तक्षेप नगर्ने उसले जनाएको छ।

सिरियाले चाहिँ हवाई हमलाको निन्दा गर्दै ‘उत्तेजनात्मक’ र ‘बर्बर आक्रमण’ भनेको छ।
शनिवार एउटा सैन्य कारबाही थालिएको घोषणा गर्नुभन्दा दुई दिन पहिलादेखि सो क्षेत्रलाई टर्कीको सेनाले घेराबन्दी गरेको थियो।
अस्वीकार
टर्कीका विदेशमन्त्रीले हवाई हमलाबारे सिरियाली सरकारसहित सम्बद्ध सबै पक्षलाई पूर्वजानकारी गराइएको बताएका छन्।
तर सिरियाली सरकारले आफूलाई त्यस्तो कुनै जानकारी गराइएको कुरा अस्वीकार गरेको छ।
वाइपीजीले हवाई हमलामा कम्तीमा ६ जना सर्वसाधारण र तीनजना लडाकु मारिएको जनाएको छ।
अंकाराले पनि हताहती भएको बताएको छ तर ती सबै लडाकु भएको जनाएको छ।



















