काठमाडौं, १४ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीलाई बाइपास गरेर काम नगर्न चेतावनी दिनुभएको छ ।
उहाँले आइतबार एक प्रेस नोट जारी गर्दै शनिवार प्रधामन्त्री ओलीसंग भएको भेटको बारेमा जानकारी दिनुभएको छ ।
हस्तलिखित प्रेस नोटमा सत्तारुढ नेकपाका उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीसंगको भेटमा पार्टीभित्र, पार्टी र सरकारबीच, अनि अन्य पार्टी र सरकारबीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको उल्लेख गर्नुभएको छ ।
‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन्’, नेता गौतमले भन्नुभएको छ, ‘यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ ।’
नेता गौतमले पार्टीमा देखिएका समस्या समाधानका लागि तत्काल पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बोलाउन पनि माग गर्नुभएको छ ।
उहाँले सबैभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको पनि खुलासा गर्नुभएको छ ।
नेकपाका उपाध्यक्ष गौतमले आफूले राखेका कुरा प्रधानमन्त्रीले धैर्यताका साथ सुनेको बताउनुभएको छ ।


















