काठमाडौं, ७ माघ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।
फेब्रुअरी ८ देखि १५ तारिखसम्म नामिबियामा आयोजना हुने प्रतियोगिताको खेल तालिका क्रिकेट नामिबियाले सार्वजनिक गरेको हो।
डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्।
सहभागी ६ टिम मध्ये उत्कृष्ट २ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन २ मा घटुवा भएको थियो।
खेल तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो खेल फेब्रुअरी ८ मा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ मा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ मा खेल्नेछ।
प्रतियोगिताको फाइनल र प्लेअफ खेल फेब्रुअरी १५ मा खेलिनेछ।
नेपाल २०१५-१७ मा संचालित बिश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन-२ मा केन्या, युएई र नामिबियासंगै घटुवा भएको हो। च्याम्पियनसिप तालिकामा नेपाल सातौं स्थानमा रहेको थियो भने केन्या पाँचौ, युएई छैठौं र नामिबिया आठौं स्थानमा रहेको थियो। क्यानडा र ओमान डिभिजन-३ बाट उक्लंदै डिभिजन-२ मा आएका हुन्।
सन् २०१४ मा मलेसियामा सम्पन्न डिभिजन-३ जित्दै नेपाल डिभिजन-२ उक्लेको थियो जसपछि नामिबियामा सम्पन्न डिभिजन-२ प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गरेको थियो। तेश्रो स्थान हाँसिल गरे पनि नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो। त्यो बेला नेपालसंगै नामिबिया, नेदरल्याण्ड, केन्या, क्यानाडा र युगान्डाले डिभिजन-२ खेलेका थिए। क्यानडा र युगान्डा डिभिजन-३ मा घटुवा भएका थिए भने नामिबिया, नेदरल्याण्ड, नेपाल र केन्या बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न छनौट भएका थिए।
डिभिजन-२ को तयारीको लागि नेपाली टिम नेपाली टिम हाल टियु मैदानमा प्रशिक्षणरत छ । प्रतियोगिता अघि अभ्यास खेल खेल्न टिम युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यहाँ टिमले स्थानीय टिमसंग ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ।
प्रतियोगितामा नेपाली टिमलाई सघाउन भारतीय ब्याटिंग प्रशिक्षक सुलक्षण कुल्कर्नी शनिबार नेपाल आइसकेका छन्।
डिभिजन-२ को लागि नेपाली प्रारम्भिक टिममा– अनिल साह, बसन्त रेग्मी, दिलिप नाथ, दिपेन्द्र ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, पारस खड्का, रोहित पौडेल, रशिद खान, संदीप लामिछाने, शक्ति गौचन , शरद भेसावकर, सिद्धान्त लोहनी, सोमपाल कामी, सुनिल धमला र सुशन भारी चयन गरिएको छ ।