पोखरा(कास्की), २० बैशाख । अन्नपूर्ण आधार शिविरमा गएको हिमपहिरोमा साढे तीन महिना अघिबाट हराएका चार कोरियालीसहित सात जनाको शव फेला परेको अधिकारीहरूले जनाएका छन्।
कोरोनाभाइरसको सङ्क्रमणको विश्वव्यापी महामारीका कारण पर्यटकीय गतिविधि शून्य भए पनि पर्यटकीय क्षेत्र पोखराका अधिकारीहरूलाई साढे तीन महिनादेखि वेपत्ता भएका पर्यटकको खोजी र उद्धारको काम भने जारी राख्नुपर्ने बाध्यता थियो।
गत माघ ३ गते अन्नपूर्ण आधार शिविरमा जाने क्रममा व्यापक हिमपातपछि आएको हिमपहिरोमा परि हराएका ४ जना कोरियाली पर्यटक र ३ जना नेपाली पथप्रदर्शक र भरियाको खोजी शुक्रवार मात्र अन्त्य भएको छ।
हिउँले पुरिएका थिए शव
शुक्रवार एक कोरियाली पर्यटक र एक नेपालीको शव फेला परेपछि खोजी र उद्धार अभियानको अन्त्य भएको जानकारी कास्की जिल्ला प्रहरी कार्यालयले दिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीय पर्यटन व्यवसायीले खोजी कार्यमा सघाउँदै आएका थिए।
यस वर्ष हिमाली क्षेत्रमा लामो समय हिमपात भएका कारण हिउँले पुरिएका लाशको खोजीमा धेरै समय लागेको पर्यटन व्यवसायीहरूको भनाइ छ।
अन्नपूर्ण क्षेत्र नेपालकै सबैभन्दा लोकप्रिय पदयात्रा मार्ग हो भने अन्नपूर्ण क्षेत्रभित्र पनि ४,१०० मिटरभन्दा बढी उचाइको क्षेत्रमा पुग्न पर्यटकहरू मरिहत्ते गर्छन्।
पर्यटकीय याममा त पर्यटकको लर्कोका कारण त्यहाँका होटल र लजमा बास बस्न ठाउँ पाउन पनि कठिन हुने गर्छ।
हिमपात र वेपत्ता
चारजना कोरियाली नागरिक अनि तीन नेपाली सहयोगी सहित अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा गर्ने क्रममा अन्नपूर्ण गाउँपालिकाको करिब ३,२०० मिटर उचाइमा पर्ने हिम्कु केभ क्षेत्रमा पुग्दा व्यापक हिमपात हुन थालेको थियो।
आश्रयको खोजीमा फर्कँदा उनीहरू हिमपहिरोमा परि बेपत्ता भएका थिए।
२०७१ सालमा अन्नपूर्ण क्षेत्रकै थोराङला भन्ज्याङ क्षेत्रमा आएको हिमआँधीका कारण ४० जनाभन्दा बढी पर्यटक र नेपाली सहयोगीको ज्यान गएपछिको अन्नपूर्ण क्षेत्रमा यो अर्को ठूलो दुर्घटना हो।
त्यतिखेर अन्डमान सागरबाट सुरु भएको हुदहुद आँधीले नेपालका हिमाली क्षेत्रमा हिमपात निम्त्याएको थियो।
त्यतिबेलाको क्षतिपछि मौसमको भविष्यवाणी गर्ने र त्यही अनुरूप पर्यटकलाई पदयात्राका लागि हिमाली क्षेत्रमा जाने अनुमति दिइने व्यवस्था गरिएपनि त्यो भरपर्दो र प्रभावकारी हुन नसकेका कारण हिमाली क्षेत्रमा बेलाबेला सानाठूला दुर्घटना हुने गरेका बताइन्छ।(बीबीसीबाट)


















