काठमाडौं, २० बैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
सरकारको कामको अवस्था र पार्टीको सांगठानिक विषयसहित विश्वव्यापी कोरोना भाइरसको प्रकोपबाट बच्न अपनाइएका कदमका कारण मुलुकमा उत्पन्न परिस्थितिको समीक्षा गर्दै आगामी मार्ग तय गर्ने र पार्टीका उपयुक्त निकायको बैठकबाट तिनलाई अनुमोदन गराउने उद्देश्यले बैशाख १७ देखि आरम्भ भएको बैठकको निरन्तरता स्वरुप नै आजको बैठक डाकिएको हो ।
राजनीतिक दलहरु विभाजन गर्न सहज बनाउने र संवैधानिक परिषद्मा विपक्षी दलका नेताको उपस्थिति नभए पनि कार्य सम्पादनमा बाधा नपर्ने गरी सर्वसत्तावादी ढंगले राज्य चलाउने उद्देश्यले ल्याएका दुई अध्यादेशपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाइने अवस्थामा पुग्नुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले गत बुधबार बसेको बैठकमा फाल्नुभएको जालमा सचिवालयका एक सदस्य परेपछि उहाँ अहिले सचिवालयमा बहुमतमा पुग्नुभएको छ ।
अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको र पार्टी नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउन तयार रहेको प्रस्ताव राख्नुभएको थियो ।
त्यस यताका ३ दिनमा पार्टीभित्रको गुट र गठबन्धनमा बामदेवले ओलीको प्रस्ताव सही नियतले आएकोले उहाँलाई साथ दिने विचार सार्वजनिक गरपछि प्रधानमन्त्री सचिवालयमा बहुमतमा पुग्नुभएको छ ।
प्रधानमन्त्रीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्ति दिनुपर्छ भन्नुहुने पार्टीका अर्का अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री माधव नेपालको पक्षमा अब उहाँदुई बाहेक पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।
प्रधानमन्त्री ओलीका पक्षमा अब उहाका अलवा उपाध्यक्ष बामदेव गौतम,महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा वादल रहनुभएको छ ।
अब संसदको बर्षे तथा बजेट अधिवेशन आरम्भ हुने भएकोले सचिवालयले संसदीय दलको बैठकको सिफारीस गरेर प्रधानमन्त्रीमाथि पर्ने समस्याको समाधान गर्ने निर्णय गर्न सक्दछ । यद्यपि प्रधानमन्त्री ओलीले अघिल्लो बैठकमा राख्नु भएको मौखिक प्रस्तावको पक्षमा उहाँ उभिनुभयो भने ती प्रस्तावहरुलाई अनुमोदन गरी कार्यान्वयनमा लैजान स्थायी समिति र केन्द्रीय समितिको बैठक बसाउने निर्णय पनि हुन सक्नेछ ।


















