काठमाडौं,२० बैशाख । पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री बनाउने हावादारी प्रस्ताव सारेर प्रधानमन्त्री के.पी. शर्मा ओली तत्कालका लागि आफ्नो सत्तामाथि परेको संकट थामथुम पार्न सफल हुनुभएको छ ।
शनिवार सम्पन्न स्थायी समितिको बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभाको सदस्यमा निर्वाचित गरेर ल्याउने निर्णय गर्नुका साथै पार्टीभित्र देखिएका समस्याहरुको संबोधन गर्न र सरकारका कामको समीक्षा गर्न यही बैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
बामदेव गौतम आफ्नो पक्षमा उभिएपछि पार्टीको सचिवालय जुन सहज ढंगले आफ्नो पक्षमा आयो,स्थायी समितिको बैठक पनि सहज ढंगले नै पार लाग्ने विश्वासमा ओली पक्ष पनि स्थायी समिति बैठक बोलाउन सहमत भएको हो ।
४५ सदस्यीय स्थायी समितिमा प्रचण्ड नेपाल गठबन्धन बलियो भएकोले प्रधानमन्त्री ओली पक्षका नेताहरु बरु सरकार सञ्चालनका विषय संसदीय दलमा छलफल गर्ने तर स्थायी समितिको बैठक नबोलाउने पक्षमा थिए । बामदेव गौतमलाई आफ्नो पक्षमा पारेपछि स्थायी समितिको मत पनि संस्थापन पक्षबिरुद्ध नजाने निश्कर्षसहित ओली पक्ष स्थायी समितिको बैठक बोलाउन तयार भएको हो ।
बामदेवको स्थिति ‘जोकर’ सरह
यसपटक प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई दुवै पदबाट विस्थापन गर्ने अभियानमा पार्टीका उपाध्यक्ष बामदेव गौतमको भूमिका तास खेलको जोकरको जस्तो देखियो । जतापनि मिल्न सक्ने र जता मिल्यो खेलको नतिजा उतै जानसक्ने स्थितिमा उहाँ रहनुभयो ।
यो सचिवालय बैठकले १७ गतेको बैठकमा प्रधानमन्त्री ओलीले मौखिक रुपमा दिनुभएको पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने झूटो आश्वासनलाई कार्यान्वयन गर्न गौतमलाई प्रतिनिधिसभामा ल्याउने निर्णय गरेको छ । तर यो निर्णय गर्दा पार्टीले गत पौष महिनामा बसेको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित हुने एक सीटमा पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई नियुक्त गर्न सिफारीस गर्ने निर्णय कार्यान्वयन नहुनुको कारण भने खोजेन ।
प्रधानमन्त्री एक जना सहमत भएपछि क्याबिनेटको निर्णयले हुने सहज काममा अवरोध सिर्जना गरेर अपमानित गर्नुहुने प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्रीको रुपमा ल्याउला भनेर नेकपा सचिवालयका सदस्यहरुले नै विश्वास गरेका छैनन् । किनकी प्रतिनिधिसभामा चुनाव जिताएर उहाँलाई ल्याउन त्यति सहज छैन् ।
यो हजारौ जनताको मतबाट निर्णय हुने कुरा हो । दशकांैसम्म आफूले रगत र पसिनाले सिचित गरको बर्दियाको गृह क्षेत्रबाट समेत पराजित हुनुभएका बामदेवलाई पार्टीले अर्को जिल्लाको निर्वाचन क्षेत्रको टिकट दिए पनि जनताले जिताउछन भन्ने छैन् । अझ उहाँलाई जिताएर ल्याउन स्थानीय प्रतिनिधिलाई राजिनामा गराउने कुरा नै हास्यास्पद छ ।
‘काम गर्ने कालु मकै खाने भालु’ भयो भने स्थानीय स्तरमा नै वगावत हुनेछ र जसरी बर्दियामा अन्तरघात भएर बामदेव गौतम हार्नुभयो, नयाँ निर्वाचन क्षेत्रमा पनि त्यही हालत हुन्छ । सबै प्रतिपक्षीले बामदेव गौतमलाई राजी खुसीले निर्विरोध बनाउछन भन्ने छैन् । प्रधानमन्त्री ओली जस्तो यसपूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र गृह मन्त्री हुँदा स्वच्छ छवि बनाउनुभएका व्यक्तिले त राज्यलाई सक्षम, प्रभावकारी, भ्रष्टाचारमुक्त र सुशासनयुक्त सरकार दिन सक्नुभएन भने बामदेव जस्तो सरकारमा रहदा सधै बदनाम रहने व्यक्तिलाई भावि प्रधानमन्त्रीका रुपमा कुनै पनि निर्वाचन क्षेत्रका जनताले सहर्ष स्वीकार गर्ने अवस्था रहने छैन् ।
प्रचण्डको तमसुक र अन्य नेताको अस्तित्व

नेकपा उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाको सदस्यमा ल्याउने निर्णयले नेकपाभित्रका अन्य नेताको अस्तित्वमा प्रश्न उठेको छ भने प्रधानमन्त्री ओलीको नियतमा ।
नेपाल कम्युनिष्ट पार्टी एमाले र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीबीच २०७५ बैशाखमा एकीकरण हुँदा सरकारको नेतृत्व आधा आधा समय आलोपालो गर्ने सहमति भएको थियो ।
तर नेकपाको यही सचिवालय र स्थायी समितिले सरकारको नेतृत्व ५ बर्ष ओलीले नै गर्ने अध्यक्षको कार्यकारी अधिकार पुष्पकमल दाहालले उपयोग गर्ने निर्णय गरेर सो सहमतिलाई निश्क्रिय बनायो ।
यदि प्रधानमन्त्री ओली सत्ता छोड्न इच्छुक रहनुभएको भए पहिलो विकल्प दुई पार्टीको एकीकरण, चुनावताकाको गठबन्धन र आम कार्यकर्ताको चाहना अनुरुप प्रचण्डलाई छोड्ने पहिलो विकल्पमा अड्नु हुन्थ्यो ।
हैन, पूर्व माओवादीबाट आएको कारणले प्रचण्डलाई दिन अनिच्छुक रहे पनि पार्टीमा पूर्व एमाले र माले वा त्यसभन्दा पहिले पनि कोअर्डिनेशन कमिटीमा रहेर काम गरेका पूर्वप्रधानमन्त्री द्धय माधवकुमार नेपाल र झलनाथ खनालजस्ता अनुभव प्राप्त पूर्व एमालेकै नेताहरु हुनुहुन्थ्यो । उहाँले यो विकल्प पनि रुचाउनु भएन ।
आफूभन्दा पहिले प्रधानमन्त्री भैसकेका र पार्टीको अध्यक्षमा पनि आफूसंग प्रतिस्पर्धा गरेका नेताहरुलाई व्यक्तिगत ईष्र्याको कारण दिन मन नलागेको हो भने पनि नेपाल कम्युनिष्ट पार्टीमा उहाँकै अन्तरगत उहाँ अचेत भएर अस्पतालमा उपचाररत रहदा प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएका,उहाँकै नेतृत्वमा उपप्रधानमन्त्रीको कार्यभार कुशलतापूर्वक सम्हालिरहनुभएका र प्रधानमन्त्री विदेश जाँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि निर्वाह गरिरहनुभएको तथा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको सम्बन्धमा बनेको उच्चस्तरीय समितिमार्फत सन्तोषजनक काम गर्नुभएका उपप्रधानमन्त्री इश्वर पोखरेललाई नै पनि प्रधानमन्त्री बनाएर जिम्मेवारीबाट मुक्त हुने सुअवसर उहाँलाई प्राप्त थियो । तर उहाँ त्यसमा पनि जान चाहनुभएको छैन् ।
यी सबै तथ्यले के उजागर गर्दछन भने प्रधानमन्त्री ओली सत्ता छोड्ने मनस्थितिमा हुनुहुन्न । यद्यपि उहाँकालागि सम्मानजनक बहिर्गमनको यो उपयुक्त समय भने हो । आगामी बर्ष लकडाउन र विश्वव्यापी मन्दीका कारण नेपालको विकास निर्माण सिथिल हुने र बाह्य रेमिटान्सको कमी,वैदेशिक रोजगारीमा मन्दी आदिका कारण उहाँको समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा जान सक्ने छैन ।
के नेकपामा भूमिगत गिरोह निर्णायक छ ?

प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमको सामु यस्तो परिस्थिति खडा गरिदिनुभयो, जुन प्राय नेपाली र हिन्दी चलचित्रमा डाकाका सरदारहरुले विश्वासघाती सदस्यलाई माफी माग्न गोडा ढोग्न लगाउछ र अनुहार घोप्टो पारेर शीर पाउमा राखेको बेला पछाडीबाट घातक हतियार प्रयोग गरी ज्यान लिन्छ । सायद नेकपा उपाध्यक्ष बामदेव गौतमको राजनीतिक जीवन ओली-प्रचण्ड -नेपाल गुट, सचिवालय,स्थायी समिति, केन्द्रीय समिति, राष्ट्रियसभा, प्रतिनिधिसभा, सदस्य र उधारो प्रधानमन्त्रीको आश्वासनमा फुटबल मैदानका चतुर खेलाडीहरुको गोडाको प्रहारबाट मिल्काइएको फुटबल जस्तै सबैको पाउमा ठक्कर खादाखादै सिद्धिने छ ।

शरीरभरी सजिएका मृगौलाका मालाको कारण बालुवाटार,सिंहदरबार र शितलनिवास बाहेक राजधानीकै पनि रिंगरोड कट्न कठिनाइ भोग्दै आउनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओली र पार्टीभित्र अध्यक्षको कार्यकारी अधिकार लिएर पनि समस्त कार्यकर्ताका मन जित्न नसक्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण सत्तारुढ नेकपाको सांगठानिक अवस्था जर्जर भएको छ । पार्टीको जीवन मानिने नीति,सिद्धान्त र कार्यक्रम सुस्पष्ट हुन सकेको छैन् । शरीरमानिने संगठनको ढाँचा तदर्थबादमा चलेको छ । यस्तोमा पार्टीको उपाध्यक्ष र संगठन विभाग प्रमुख नै रहनुभएका वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य र प्रधानमन्त्री नै किन बन्नुपर्यो ?यो रहस्यमय छ ।
कम्युनिष्ट पार्टीमा पार्टीका अध्यक्ष, सचिवालय, स्थायी समिति र केन्द्रीय समितिको हैसियत उच्च हुन्छ । पार्टी पद्धतिमा सरकार पार्टीको अधिनमा हुन्छ अर्थात पार्टीको नीति, कार्यक्रम र निर्देशन शिरोपर गरेर नै सरकार सञ्चालन हुन्छ ।
पार्टी निर्माण र सरकार नियन्त्रणको यस्तो महत्वपूर्ण निकायमा रहेको व्यक्तिलाई उधारो आश्वासन दिएर प्रधानमन्त्री ओलीले झुक्याइरहनुभएको छ कि प्रधानमन्त्री ओलीलाई पनि बामदेव गौतम नै उत्तराधिकारी चाहिएको हो स्पष्ट छैन् । प्रधानमन्त्री नियुक्त भएपछि के.पी. शर्मा ओलीको मुलुकका माफिया डनहरुसंग बढेको हिमचिम र पार्टीका उपाध्यक्ष वामदेव गौतमको विगत हेर्दा त्यही अवाञ्छित भूमिगत गिरोहले सत्तारुढ नेकपा र सरकार सञ्चालन गरेको निष्कर्ष निस्कन्छ ।

स्वच्छ छवि कायम गरेर नेपाल प्रहरीको महानिरीक्षक पदबाट अवकाश प्राप्त गर्नुभएका सर्वेन्द्र खनाललाई प्रधानमन्त्री ओलीले जुन ढंगले सांसद अपहरणको निन्दनीय घट्नामा संलग्न गराउनुभयो, त्यसलाई हेर्दा ओली सरकार अपराधीकरणतर्फ उन्मुख भएको देखिन्छ । उहाँबाट असल उत्तराधिकारको कल्पना पनि गर्न सकिदैन् ।
यसपटक नेकपाभित्र विवाद उठ्नुमा मृगौलाका दीर्घ रोगी प्रधानमन्त्रीले सरकार र पार्टीको लागि आवश्यकता अनुसार समय दिन नसक्नु, कोरोनाभाइरसको प्रकोपबाट देश र जनतालाई बचाउन अबलम्बन गरिएको लकडाउनका कारण पीडित नेपाली जनतालाई राहत र उद्धार प्याकेज ल्याउन नसक्नु, देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नसक्नु, प्रधानमन्त्रीको काखैमा बस्नेहरु भ्रष्टाचार र आर्थिक अनियमिततामा मुछिनु र प्रधानमन्त्री कारबाही गर्न हिच्किचाउनु, पार्टीलाई उपेक्षा गरी सरकार सञ्चालन गर्नु र विपक्षी दलहरुसंग न्यूनतम राजनीतिक समझदारी कायम गर्न नसक्नु, विपक्षी मास्न अध्यादेश ल्याउने धृष्टता गर्नु जस्ता दर्जनौ कारण थिए ।
तर सचिवालय बैठकमा प्रधानमन्त्रीले सरकार प्रमुखका हैसियतमा काम गर्दा केही कमी कमजोरी भएको कुरालाई आत्मसात गर्दै आत्मालोचना गरेपछि सबै विषयहरु थान्को लगाइयो । स्थायी समितिमा पनि यी बिषयहरु थान्को लगाउन खरिद बिक्री चल्ने संभावना छ । प्रधानमन्त्री वा सस्थापन पक्षसंग संघीयदेखि प्रादेशिक मन्त्री,संवैधानिक नियुक्ति, राजनीतिक नियुक्ति, राजदूत जस्ता आकर्षक लाभका पद र तस्कर तथा व्यापारीबाट उठाएको अकुत पैसा छ ।
अति महत्वाकांक्षा राख्ने पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई ‘आकाशको जुनतारा झारिदिने’ जुन सपना प्रधानमन्त्री ओली र उहाँका सहयोगीहरुले देखाएर जुन ढंगले उहाँको उपयोग भएको छ, त्यसमा भने गौतम हँसीको पात्र अर्थात जोकरको रुपमा प्रस्तुत हुनुभयो । कहिले राष्ट्रिय सभा कहिले प्रतिनिधि सभा, कहिले उपाध्यक्ष कहिले संगठन विभाग प्रमुख । जनताको विश्वास गुमाएर पनि जन्मिएको पदाशक्तिले राष्ट्रिय सभा जाने उहाँको मार्ग रोकियो । सायद अब अर्थमन्त्री डा. युवराज खतिवडाको नै भाग्य चम्केला ।


















