Prakash Adhikari May 4, 2020

काठमाडौं, २२ बैशाख । खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत विज्ञहरुले नेपालमा खानेपानी,सरसफाई र स्वच्छताको क्षेत्रमा हासिल भएका मौलिक परम्परागत र विश्वबाट प्राप्त ज्ञानहरुलाई व्यवस्थित गरी अभ्यासमा ल्याउन राष्ट्रिय ज्ञान केन्द्र स्थापना गर्न सरकारसंग आग्रह गरेका छन् ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.को आयोजनामा आइतबार गरिएको जुम भिडियो कन्फरेन्सका सहभागी विज्ञहरुले यस्तो आग्रह गर्नुभएको हो ।

सम्मेलनमा बोल्दै ज्ञान व्यवस्थापन प्रतिष्ठान नेपालका संस्थापक डा. कृष्णप्रसाद पौडेलले पानीजन्य रोगका कारणका बर्षेनी विश्वमा ठूलो संख्यामा मानिसहरुको मृत्यु हुने गरेकोले यस स्वच्छ र सुरक्षित खानेपानीको ज्ञान हरेक व्यक्तिमा पुर्याउन आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, विश्व स्वास्थ्य संगठनको २०१८ को प्रतिवेदनमा असुरक्षित खानेपानी,सरसफाई र हातको स्वच्छताको अभावका कारण हुने झाडा बान्ताका कारणमात्रै  बार्षिक ८ लाख २९ हजार मानिसले जीवन गुमाउने गरेका भयावह तस्वीर प्रस्तुत गरिएको छ। खानेपानी,सरसफाई र स्वच्छताको क्षेत्रमा गरिने सुधारले यो क्षति २५ देखि ३० प्रतिशतसम्म रोक्न सकिन्छ ।उहाँले खानेपानी,सरसफाई र स्वच्छताको समुचित दिगो व्यवस्थापनमा सघाउन यस क्षेत्रमा कार्यरत सरकारी निकायका विज्ञ, नीति निर्माता, अभ्यासकर्ता, व्यवसायिक विज्ञ, निजी  र सामुदायिक क्षेत्रका प्रतिनिधिहरु रहने गरी ज्ञान केन्द्रको स्थापना गर्न उचित हुने बताउनुभयो ।

कार्यक्रममा सहभागी डा. इन्दिरा पराजुलीले खानेपानी , सरसफाई र स्वच्छताको क्षेत्रमा हाम्रा आफ्ना परम्परागत मौलिक ज्ञानको पनि संरक्षण हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अर्का सहभागी डा. उद्धव खड्काले मौलिक र परम्परागत ज्ञानलाई आधुनिक प्रविधिको प्रयोग गरी नेपालले यस क्षेत्रमा विश्वलाई नविन प्रविधिका उत्पादनहरु दिनसक्ने संभावना औल्याउनुभयो ।

कार्यक्रममा स्रोत व्यक्तिको रुपमा आमन्त्रित डा. पौडलले खानेपानी,सरसफाई र स्वच्छताको बारेमा विश्व स्वास्थ्य संगठनको दिगो विकास लक्ष्य र रणनीतिको बारेमा पनि चर्चा गर्नुभएको थियो ।

विश्व स्वास्थ्य संगठनले  खानेपानीको सर्वव्यापी पहुँच, सबैका निमित्त सरफाई र स्वच्छता, खानेपानीको गुणस्तरमा सुधार, पानीको उपयोगितामा कुशलता, पानीको एकीकृत स्रोत व्यवस्थापन र परिस्थितीय चक्र(इकोसिस्टम)को संरक्षण र पुनस्थापनालाई यस क्षेत्रको लक्ष्य मानेको छ ।

यी लक्ष्यहरु हासिल गर्न यस क्षेत्रमा मान्यता,उपकरण र मापदण्डको विकास, प्राविधिक सहयोगबाट सशक्तिकरण, अनुसन्धान र अनुगमन, आपसी समन्वय, खानेपानी सरसफाई र स्वच्छताको एकीकृत कार्यक्रम र जल्दबल्दा बिषयमा तत्कालको रेस्पोन्स लिने रणनीति पनि विश्व स्वास्थ्य संगठनले तय गरेको छ ।

कार्यक्रमका स्रोत व्यक्तित्व डा. पौडेलले उपयुक्त ज्ञान र प्रविधिलाई उपयुक्त प्रक्रियाबाट आम जनतामा पुर्याउनु नै यस्तो ज्ञान केन्द्रको उद्देश्य हुने बताउदै  खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा बन्ने यस्तो केन्द्रमा परिकल्पना, सूचना, अभ्यास र प्रविधिहरुलाई उपयुक्त विधि तथा माध्यमबाट जनतामा पुर्याउने र तिनको पृष्ठपोषण लिई निरन्तर सुधार भैरहने उल्लेख गर्नुभयो ।

उहाँले शहरी र ग्रामीण क्षेत्रमा खानेपानी, सरसफाई र स्वच्छता कार्यक्रमको विकास, यस क्षेत्रको ज्ञानको उत्पादन तथा संकलन, उपयुक्त सञ्चार सामग्रीको विकास, क्षमता निर्माणमा सहयोग, आपसी सहयोग र समन्वय तथा अनुगमन  र मूल्यांकन गर्ने पद्धति निर्माण गरी  ज्ञान केन्द्र खोल्न सकिने बताउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी प्रकाश अधिकारीले जल तथा ऊर्जा आयोगको कार्यक्षेत्र विस्तार गरी पानीको स्रोत व्यवस्थापन, संकलन, प्रशोधन,वितरण,उपयोगको बहुपक्षीय नीति निर्माण र ज्ञान केन्द्रको रुपमा विकास गर्न सकिने संभावना औल्याउनुभएको थियो ।

कार्यक्रममा डा. दिनेश मानन्धरले ज्ञान केन्द्रमा उपलब्ध ज्ञानको व्यवहारिक परीक्षणको लागि अध्ययन,अनुसन्धान र प्रमाणीकरणको पक्ष निकै महत्वपूर्ण हुने बताउदै यस्ता ज्ञानहरु प्रमाणीकरणपछि मात्रै आम जनतामा पुर्याउनु पर्ने बताउनुभयो ।

पूर्वमन्त्री गणेश साहले सहजीकरण गर्नुभएका उक्त भिडियो कन्फरेन्समा स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले खानेपानीको क्षेत्रमा राष्ट्रिय ज्ञान केन्द्र बनाउने सम्बन्धमा केही बर्ष यता विज्ञहरुले आवाज उठाउनु भएको र  स्थापनाको प्रयासको थालनी भएपनि त्यसले मूर्त रुप लिन नसकेको बताउनुभयो । यस क्षेत्रमा हासिल भएका नवीनतम् ज्ञान र अनुभवहरु तल्लोतहमा लैजाने कार्य मन्त्रालयमा रहेको सेक्टर इफिसियन्सी यूनिट र तालिम केन्द्रहरुले गरिहेको बताउनुभयो ।

कार्यक्रमका स्रोत व्यक्तित्व डा. पौडेलले खानेपानीको स्रोत संरक्षण, संकलन, प्रशोधन, पहुँच र क्रयशक्ति, सामुदायिक स्वामित्वको बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै सरसफाईको क्षेत्रमा जीवाणुको रोकथाम,सुविधा,बातावरण संरक्षण,आत्मसम्मान, पहुँच र क्रयशक्तिको सम्बन्धमा तथा स्वच्छताका स्वास्थ्य शिक्षा, पानीको भण्डार र रोगको संक्रमण जस्ता विविध पक्षमा पनि प्रकाश पार्नुभएको थियो ।

Share Now

Leave a comment.