काठमाडौं, २१ बैशाख । नेपालगञ्जमा थप ६ जनालाई कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले आइतबार साँझ एक विज्ञप्ति निकालेर यसको पुष्टि गर्नुभएको हो ।
नयाँ संक्रमित बिरामीहरु शुक्रबार र आइतवार भेटिएका १० संक्रमितकै परिवारका सदस्य र नातेदार रहेको बताइएको छ। भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो।
नयाँ संक्रमितमा १६, २१ र ३४ वर्षीय पुरुष रहेका छन्। त्यसैगरी ४०, ५५ र ६० वर्षीया महिला पनि कोरोना संक्रमित भएका छन्।
आइतवार दिउँसो मात्रै नेपालगञ्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो।
यही शुक्रबार त्यहाँका एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले नेपालगञ्जमा कोराना सङ्क्रमितको सङ्ख्या १६ पुगेको बताउनुभएको छ। ‘
आइतबार वीरगञ्जमा पनि एकजना संक्रमित भेटिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।


















