काठमाडौं, २१ बैशाख । नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्जमा मात्रै ९ जना र पर्साको बीरगञ्जमा कोरोना संक्रमित भेटिएका छन्।
नेपालगञ्जमा भेटिएका मध्ये ५ पुरुष र ४ जना महिला छन् । नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालस्थित ल्याबमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना देखिएको हो।
उनीहरुलाई खजुरास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ।
वीरगञ्जमा भेटिएका संक्रमित ३६ वर्षीय पुरुष हुन् । उनलाई अहिले नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।
नेपालगञ्जमा यसअघि एकजना धर्मगुरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
यता वीरगञ्ज क्षेत्रमा मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ पुगेको छ।
वैशाख १४ गते पर्साको वीरगन्जस्थित छपकैयाकै २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
वीरगन्जमा गत चैत ३० मा पहिलो पटक ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आइतबार भेटिएका संक्रमितसहित प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या १३ पुगेको छ।


















