काठमाडौं, २३ बैशाख । कोरोनाभाइरस संक्रमणको आधारमा लकडाउनको स्वरुप तय गर्न कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने भएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लकडाउनको अवधि थप गर्ने नगर्ने सम्बन्धमा निर्णय हुनेछ ।
सरकारले चौथोपटक थप गरेको लकडाउनको अवधि बिहीबार (२५ गते) सकिँदै छ। सरकारले लकडाउन केही खुकुलो बनाउने तयारी गरिरहेका बेला नेपालगञ्जमा एकसाथ धेरै संख्या कोरोना संक्रमित भेटिएपछि के गर्ने भन्ने बिषयमा अन्योल बढेको छ ।
आजको बैठकमा लकडाउनको स्वरुप परिमार्जन गर्दै संक्रमणको जोखिम कम देखिएका क्षेत्रमा खुकुलो बनाउने विषयमा छलफल हुनेछ ।
स्वास्थ्य मन्त्रालयले संक्रमणको प्रभाव र जोखिमका आधारमा विभिन्न क्षेत्रलाई रेड, एल्लो र ग्रिन गरी तीन क्षेत्रमा वर्गाीकरण गर्नेगरी लकडाउनको प्रस्ताव तयार गरेको छ।
आजको बैठकमा सो प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ।


















