Prakash Adhikari May 6, 2020

काठमाडौं, २४ बैशाख । कोरोनाभाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि लगाइएको लकडाउनको अवधिलाई आगामी जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि वैशाख २५ बाट बढाएर जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

सरकारले गत बर्षको चैत्र ११ देखि नेपालभर लकडाउन घोषणा गरेको थियो । पहिलो पटक चैत्र १८ सम्म लगाइएको लकडाउनको अवधि दोस्रो पटक थप गरी चैत्र २५ गतेसम्म बढाइयो । सरकारले तेस्रो पटक लकडाउनको अवधि बढाएर बैशाख ३ गतेसम्म थपेको थियो । त्यसपछि भने सरकारले एकै पटक १२ दिनको समयावधि थप गरी बैशाख १५ गते पुर्यायो । बैशाख १५ गतेसम्मको लकडाउन अवधि १० दिन थपेर बैशाख २५ पुर्याइएको थियो ।

भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिगी जमातमा सहभागी भएर फर्केका नेपाली र अन्तराष्ट्रिय उडानबाट नेपाल आएकाहरुका देखिएको कोरोनाभाइरसको संक्रमण विस्तारै तिनीहरुको सम्पर्कमा आएका केहीलाई सरेको पाइएको छ ।

विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राखेर कडा निगरानी गरी विस्तारै आर्थिक गतिविधिलाई सञ्चालन हुने वातावरण सुरु गर्ने अपेक्षा गरिएकोमा सरकारले अहिले अपनाएकै शैलीको लकडाउन देशभर जारी हुने गरी समयावधि थप गरेको छ ।

मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाबाट ८२ जना संक्रमित भइसकेका छन्।

तर तीमध्ये बुधबार मात्र ६ जना निको भएर अस्पतालबाट घर फर्केका छन् भने यसअघि १६ जना निको भइ फर्किसकेका छन्। तर निको भएकामध्ये पनि तीन जनामा फेरि कोरोना संक्रमण देखिएको बताइएको छ।

Share Now

Leave a comment.