Prakash Adhikari May 7, 2020

 

काठमाडौं, २५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु अहिंसा,शान्ति,सहिष्णुता र सद्भावको लागि प्रेरणादायी रहेको बताउनुभएको छ ।

२५६४ औं जन्म जयन्तीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीसहित विश्वभरका बौद्धमार्गी तथा शान्ति र अहिंसाप्रेमीहरुलाई बिहिबार दिनुभएको शुभकामना सन्देशमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले बुद्धको जीवन र दर्शनलाई स्मरण गर्ने यस दिवसले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यत्तः गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र आपसी सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ।

राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरसको महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउनेछ भन्‍ने कामना पनि गर्नुभएको छ ।

Share Now

Leave a comment.