Prakash Adhikari May 7, 2020

काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा देश विदेशमा रहेका नेपाली र बुद्ध धर्मका अनुयायीहरुलाई अशान्ति,अन्याय,अत्याचार र हिंसाको अन्त्यका साथै दमनबाट मुक्ति मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।

२५६४ औं बुद्ध जयन्तीको अवसरमा बिहिबार एक शुभकामना सन्देश दिदैं पूर्व प्रधानमन्त्री देउवाले भन्नुभएको छ , बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्दछु ।

दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको स्मरण गर्दै कांग्रेस सभपति देउवाले विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको नेपाल अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी घट्नाहरुबाट मुक्त हुन नसकेको बताउनुभएको छ ।

उहाँले शान्त र समुन्नत नेपाल निर्माणका लागि थुप्रै अवसरहरु रहेको उल्लेख गर्दै त्यसका लागि हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि बन्द गरिनु पर्ने बताउनुभएको छ ।

नेपाल लगायत विश्वका सबै देश अहिले कोरोना भाइरसको संक्रमण प्रताडित भएको स्मरण गराउदै कांग्रेस सभापति देउवाले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गनुपर्ने बताउनुभएको छ ।

उहाँले उच्च मनोवलका साथ आपसी सहकार्य र एकताले कोरोनाविरुद्धको लडाई जित्न सकिने विश्वास व्यक्त गर्दै शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई मन, वचन र कर्मले पालन गर्दै अशान्ति, हत्या र हिंसाको अन्त्य गर्न सबैमा शुभकामना दिनुभएको छ ।

Share Now

Leave a comment.