Prakash Adhikari May 7, 2020

हेलेन लुइस

कोरोना भाइरसविरुद्धको युद्धमा तपाईं कसलाई सेनापति रोज्नुहुन्छ– जर्मनीकी एन्जेला मर्केल, स्कटल्यान्डकी निकोला स्टर्जेन वा न्युजिल्यान्डकी जासिन्डा आर्डेन?

विश्वका थुप्रै नेताहरु महामारीसम्बन्धी गलत निर्णय लिएकोमा आलोचित भइरहेका छन्। यस्तो बेलामा यी तीन नेतृको भने खुब प्रशंसा भइरहेको छ। भौतिकशास्त्रमा पीएचडी गरेकी मर्केलले आफैँले भाइरस कसरी सर्छ, यसले कस्तो असर गर्छ, व्याख्या गरेर जनतालाई बुझाइन्। स्टर्जेन र उनको सरकारले महामारीविरुद्ध निकै सुझबुझपूर्ण रणनीति तयार पार्‍यो। आर्डेनले फेसबुक लाइभमार्फत सम्बोधन गर्दै लकडाउनको औचित्य पुष्टि गरिन्।

यी तीन जनाबाहेक पनि महिला नेतृत्वले राम्रो काम गरेको छ। आइसल्यान्डकी क्यातरिन याकोब्स्दोतिर र नर्वेकी एर्ना सोलवर्गलाई हेरौँ। याकोब्स्दोतिरले देशका सबै नागरिकलाई निशुल्क कोरोना भाइरस परीक्षण गर्ने बताइन्। सोलबर्गले बालबालिकाका लागि मात्रै पत्रकार सम्मेलन आयोजना गरेर भनिन्– यस्तो बेला डर लाग्नु स्वभाविक हो।

कोरोना महामारीजस्ता संकटलाई झेल्न पक्कै पनि पुरुषभन्दा महिलाको नेतृत्व बढी प्रभावकारी हुनुपर्छ। यी नेतृहरुलाई हेर्दा यही निश्कर्षमा पुग्न मन लाग्छ।

सन् २००८ को वित्तीय संकटपछि पनि यस्तै भनिएको थियो। महिलाले चलाएको शासन बढी दयालु र कम आक्रामक देखिएको थियो। केही समयअघि अन्तर्राष्ट्रिय मुद्राकोषकी प्रबन्ध निर्देशक क्रिस्टिन लेगार्डले भनेकी थिइन्– यदि लेम्यान ब्रदर्सको ठाउँमा लेम्यान सिस्टर्स हुन्थे भने २००८ को आर्थिक संकट नै आउने थिएन।

अहिले पनि विश्लेषकहरुले महिला नेतृत्वको ‘सहानुभूति र हेरचाह’ को प्रशंसा गरिरहेका छन्। तर, यस्तो खालको विश्लेषण त्रुटिपूर्ण छ। र सम्भवतः राजनीतिमा महिलाको प्रगतिका लागि खतरनाक पनि। महिला नेतृहरुले पुरुषभन्दा राम्रो काम गरिरहेका होइनन्। बरु, बलवान पुरुष नेताहरुले खराब काम गरिरहेका छन्।

सबैभन्दा स्पष्ट उदाहरणबाटै चर्चा सुरु गरौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। अब त ट्रम्पले थाहा पाइसके– राजनीतिमा सफल उनको रणनीति श्वासप्रश्वाससम्बन्धी यो रोगविरुद्ध बेकार छ। प्रेसजसरी भाइरसलाई गालीबेइज्जती गर्न सकिन्न। आफूविरुद्ध बोल्ने कर्मचारीलाई झैँ भाइरसलाई बर्खास्त वा घटुवा गर्न सकिन्न। राष्ट्रघाती होस् भन्दा पनि भाइरसले टेर्ने रहेनछ। न त कच्चा र खतरनाक उपचारले नै भाग्ने रहेछ। अझ भाइरसले ट्विटर पनि नपढ्दो रहेछ।

बलवान् नेताहरु कसरी उदाउँछन्? अनिश्चित समयमा पनि उनीहरु निश्चितताको बाचा गर्छन्। उनीहरु एउटा सजिलो शत्रु खडा गर्छन् र त्यसविरुद्धको रक्षकका रुपमा आफूलाई उभ्याउँछन्। विपक्षी नेता र प्रेसलाई अवैध घोषित गरेर जति नियन्त्रण बढायो, यो रणनीतिले उति नै राम्ररी काम गर्छ। तर, यो भाइरसलाई अवैध घोषित गर्नै सकिन्न। ट्रम्पले जे ट्विट गरे पनि मानिसहरु खोकिरहन्छन्, मरिरहन्छन्।

चीनका सी चिनफिङले यो समस्या बेलैमा पत्ता लगाए, जब वुहानमा डाक्टरहरुलाई चुप लगाउने कोसिस भयो। तर, रोग अन्य मुलुकमा फैलिहाल्यो। सुरुमा इरानले पनि संक्रमणको स्तर कम देखाउन कोसिस गर्‍यो।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसलाई ‘रुघाखोकी’ भनेर बेवास्ता गरे। अप्रिलमा त उनले लकडाउनविरुद्धको प्रदर्शनमा सहभागी र भाषण नै गरे। त्यसबेलासम्ममा उनकै प्रेस सचिवलाई भाइरस लागिसकेको थियो। अमेजनको घना जंगलबीचको सबैभन्दा ठूलो सहर मानौसमा अहिले मृतकहरुलाई गाड्न ठुल्ठूला खाल्डो खनिँदैछन्। मृतक संख्यामा ब्राजिलले चीनलाई उछिनिसकेको छ। वास्तवमा जुनसुकै मुलुकमा भाइरसबाट मृत्यु भएकाहरुको वास्तविक संख्या पत्ता लगाउन निकै समय लाग्नेछ।

विश्वमा सत्ता सञ्चालन गरिरहेका महिला अत्यन्त कम छन्। विश्वका २० ठूला अर्थतन्त्र जी २० मा एक मात्र नेतृ हुन् मर्केल। यतिबेला जी २० को बैठक हुन्थ्यो भने त्यसमा सहभागी हुने दुई महिलामा मर्केल र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान देर मात्र हुने थिए।

त्यसैले ‘महिला नेतृत्व’ को कुरा गर्ने हो भने अहिले नमुना मात्र देख्न सकिन्छ। आधुनिककालमा अमेरिका, चीन, रुस, इटली र साउदी अरबमा कहिल्यै महिलाको नेतृत्व देखिएको छैन। सन् २०२० को सुरुवातमा संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्यमध्ये १५ मुलुकको मात्र नेतृत्व महिलाले गरेका थिए। अहिले त्यो घटेर १३ भएको छ।

संख्या थोरै भएकैले अमिल्दो भएपनि महिला नेताहरुलाई एकअर्कासँग दाँज्ने गरिन्छ। बेलायतकी पूर्वप्रधानमन्त्री टरिजा मेलाई आइरन लेडी २.० भनियो– अर्थात् दोस्री मार्गरेट थ्याचर। तर, उनको काम गराइ थ्याचरजस्तो होइन, गोर्डन ब्राउनको जस्तो थियो।

अहिले फेरि त्यस्तै अमिल्दो तुलना भइरहेको छ। मर्केलको उपनाम ‘मुत्ती’ (आमा) हुनसक्छ। तर, उनी स्नेही र कोमल होइन, कडा अनुशासनमा राख्ने आमा हुन्। उनको नेतृत्व शैली उनको एक्स क्रोमोजोमभन्दा उनको वैज्ञानिक पृष्ठभूमिका कारण बढी प्रभावित छ। मर्केल र आर्डेनको शासनशैली मेल खाँदैन। आर्डेन क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोजस्ती छन्। आर्डेन र ट्रुडो दुवै संवेदनशील छन्, अल्पसंख्यक समुदायमा लोकप्रिय छन्। दुवैलाई बढी आत्मपूजा गरेको आरोप लाग्ने गर्छ।

त्यसैले महिला नेतृत्वको विषयमा कुनै निश्कर्षमा पुगिहाल्न कठिन छ। किनभने राजनीतिको उच्च शिखरमा पुग्ने मानिस स्वभाविक रुपमा असाधारण हुन्छ। महिला वा पुरुष जे भए पनि उसलाई क्षमता, महत्वाकांक्षा, उपयुक्त परिस्थितिको आवश्यकता पर्छ। नेतृत्वमा महिला नपुगेका मुलुकमा एक महिलालाई सफल बन्न ऊ अत्यन्त कडा र महत्वाकांक्षी हुनुपर्छ।

यो बहसबाट निस्किने एउटा निश्कर्ष के हो भने नेतृत्वमा रहँदा पुरुषको तुलनामा महिलालाई कम जोखिम छ। यसमा पर्याप्त अनुसन्धान त भएको छैन। तर, समाजले के सोच्छ भने महिला नेतृत्वमा हुँदा जोखिम कम छ। त्यसैले महिला नेतृहरु स्कुल बन्द गर्ने, अनिवार्य मास्क लगाउनेजस्ता नीतिहरुलाई राम्ररी सञ्चार गर्न सक्छन्।

नेतृत्वमा बसेर मर्दपन प्रदर्शन गर्नु जोखिमपूर्ण हुन्छ। मार्च ३ मा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले फूर्ति गरेः ‘म एउटा अस्पताल गएको थिएँ। त्यहाँ कोरोना भाइरसका बिरामीहरु पनि थिए। मैले सबैसँग हात मिलाएँ।’ केही सातापछि उनी आफैँ थला परेर आईसीयूमा पुगे।

महिला नेतृ ‘सहानुभूतिपूर्ण’ हुन्छन्, त्यसैले उनीहरु असल हुन् भन्ने तर्क गर्दा हामीले होस पुर्‍याउन आवश्यक छ। किनभने यो लैंगिक दृष्टिकोण हुनजान्छ। इतिहासदेखि यस्तै दृष्टिकोणले महिलालाई पछाडि पार्दै आएको थियो। यो तर्कले थुप्रै सफल पुरुष नेताहरु पनि सहानुभूतिपूर्ण थिए भन्ने तथ्यलाई बेवास्ता गर्छ।

उसोभए कोरोना भाइरस महामारीको यो संकटमा महिला नेतृत्व भएको मुलुकले किन राम्रो काम गरिरहेको छ त? यसको उत्तर खोज्न हामीले पहिले अर्को प्रश्नमा ध्यान दिनुपर्ने हुन्छ– कस्तो मुलुकमा महिलाहरु शक्तिमा पुग्छन्?

‘सहमतिको राजनीतिक संस्कार भएको र सरकारमाथि विश्वास भएको मुलुकमा महिलाहरु शक्तिमा सजिलै पुग्छन्,’ न्युयोर्क युनिभर्सिटीकी समाजशास्त्र विषयकी प्राध्यापक क्याथलिन गर्सन भन्छिन्।

यस हिसाबले हेर्दा बलवान् नेता चुन्ने वा त्यस्ता नेता शक्तिमा रहिरहने मुलुक पहिले नै संकटमा परिसकेको हुन्छ। जहाँ चुनाव नौटंकी मात्र बन्ने गर्छ।

पुरुषले राम्रो नेतृत्व गर्न सक्छ भन्ने अन्धविश्वास शताब्दीयौँसम्म कायम थियो। अचानक त्यसलाई उल्ट्याउँदैमा हामी सही साबित हुँदैनौँ। असल र प्रभावकारी सरकार तथा शासनको कारण महिला नेतृ होइनन्। बरु महिला नेतृ असल र प्रभावकारी शासनको लक्षण हुन्।

(दि एटलान्टिक/नेपाल खबरबाट। हेलेन लुइस ‘डिफिकल्ट वुमन : अ हिस्ट्री अफ फेमिनिज्म इन एलेभेन फाइट्स’ नामक पुस्तककी लेखिका हुनुहुन्छ ।)

Share Now

Leave a comment.