काठमाडौं, ३० बैशाख । विगत केही दिन यता मुलुकका सीमावर्ती जिल्लाहरुका कोरोनाभाइरसका संक्रमित बिरामीहरुको संख्या ह्वात्तै बढ्न थालेकोेले गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पासलाई कडा बनाएको छ ।
मन्त्रालयले यस अगाडि जारी भएका सबै ई-पास लगायतका सवारीहरु खारेज गरेको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य चाहिने व्यवस्था गरेको छ भने उपत्यकाबाहिरका जिल्लाबाट उपत्यका आउन गृहको लिखित स्विकृति चाहिने भएको छ ।
मन्त्रालयले नयाँ नियम जेठ १ गतेबाट लागू हुने बताइएको छ ।
गृह मन्त्रालयले मंगलबार सबै जिल्ला कार्यालयहरुलाई एक परिपत्र जारी गर्दै भनेको छ, ‘अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने ।’ गृहले त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्विकृति नम्बर समेत अनिवार्य समावेश गर्नुपर्ने जनाएको छ ।
पास स्विकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइ समेत खुलाउनुपर्नेछ । पासबिना एक जिल्लाबाट अर्को जिल्लामा सवारी आवागमन भएको पाईए तत्काल सुरु जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउन समेत गृह मन्त्रालयले निर्देशन दिएको छ ।



















