Prakash Adhikari May 14, 2020

काठमाडौं, १ जेठ । लगातार दुई दिन नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको नेपालको सेयर बजार आजदेखि जेठ ५ सम्मकालागि बन्द भएको छ । आर्थिक कारोबारलाई निरन्तरता दिनका लागि बैशाख ३० देखि नेपालको सेयर बजार कारोबार खुला गरिएको थियो तर बजारमा कारोबार भएको पहिलो र दोस्रो दिन नकारात्मक सर्किट लागेपछि निर्धारित समयसम्म कारोबार हुन सकेर दुवै दिन बजार समय अगावै बन्द भएको थियो ।

लक डाउनको अवधिभरका लागि धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डले यस क्षेत्रका सरोकारवाला निकायहरु बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज, धितापत्र दलाल ब्यवासायी, सीडीएससी, डिपोजिटरी पार्टिसिपेन्ट, मर्चेन्ट बैंकर, भुक्तानी गर्ने बैंक तथा लगानीकर्ताहरुका विभिन्न प्रतिनिधिहरुसंगको परामर्श पछि दैनिक ११ बजेदेखि दुई घण्टा बजार सञ्चालन गर्ने र नेप्से परिसूचका २ प्रतिशतको घटबढ भएमा सर्किट ब्रेक लाग्ने र कारोबार बन्द हुने व्यवस्था गरेको थियो ।

सरकारले जेठ १ गतेदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी सञ्चालनका कडाई गरेको र यसबाट धितोपत्रको कारोबार गर्ने लगानीकर्ताहरुलाई धितोपत्र बजारको पहुँच कठिन हुन जाने देखिएको कारण जनाउदै धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको थियो । नियमन निकाय बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्जको बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल घोषित लकडाउन अवधि(जेठ ५)सम्म शेयर बजार बन्द गर्ने निर्णय गरेको हो।

Share Now

Leave a comment.