Prakash Adhikari May 15, 2020

 

काठमाडौं, २ जेठ । रोजगारी र अध्ययनको क्रममा विदेशमा गएका र आफू पुगेको देशमा कोरोना संक्रमणका कारण लकडाउन भएपछि स्वदेश फर्कने क्रममा सीमानामा आइपुगेका नेपालीहरुलाई देशभित्र प्रवेश दिन नेपाली कांग्रेसले सरकारसंग माग गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारततर्फको सीमा नाकामा कैंयौ नेपाली महिनौदेखि अलपत्र परेको र पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको विवरण नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्राप्त भएको जनाउनुभएको छ ।

भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउने बारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण आएको उल्लेख गर्दै कांग्रेस प्रवक्ता शर्माले भन्नुभएको छ, ‘कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन् ।’

जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने एकातर्फ खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दशगजा क्षेत्रमा थप प्रताडित बताउदै कांग्रेसले लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेतर्फ पनि सचेत गराएको छ ।

कांग्रेसले नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात् सुरक्षित रूपमा घर पु¥याउने प्रबन्ध गर्न सरकारसं आग्रह गरेको छ ।

नेपाली कांग्रेसले सरकारलाई आफ्नो देशका नागरिकप्रतिको जिम्मेवारी सम्झाउदै उनीहरुको बाच्न पाउने अधिकार, आफ्नो घरबारमा बस्न पाउने अधिकार, स्वास्थ्यमाथिको अधिकारको उपयोग गर्न दिने अवस्था सिर्जना गर्न पनि आग्रह गरेको छ ।

Share Now

Leave a comment.