काठमाडौं, २ जेठ । विगत डेढ महिनादेखि भारतीय क्वारेन्टाइनमा रहेका ६ सय ८७ नेपालीलाई बिहिबार मध्यरातमा नेपालगञ्जको जमुनियास्थित रुपैडिया नाकाबाट स्वदेश ल्याइएको छ।
नेपाल र भारतका प्रशासकहरुबीच सो क्षेत्रमा रहेका दुवैदेशका नागरिकलाई आआफ्नो घरबासमा पुग्नदिने सहमति भएपछि बाँकेको सीमावर्ती बजार भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको हो ।
नागरिक आदानप्रदान सहमति अनुसार नेपालको क्वारेन्टाइनमा रहेका भारतीयलाई पनि रुपैडिया नाकाबाट भारत फर्कन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो।
स्वदेश प्रवेश गरेका नेपालीहरु मध्ये बाँके र बर्दिया घर भएका २ सय २१ लाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ। अन्य जिल्लामा घर भएकालाई नेपालगन्ज भन्सार कार्यालयको यात्रु शाखाको कम्पाउण्डमा राखिएको छ। ‘
उहाँले भारतबाट आएका नेपालीहरुलाई उनीहरुको आरडिटी जाँच गरि स्थायी घरबासको आधारमा सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर पठाइने बताउनुभयो ।
सीमा आसपास अलपत्र परेका दुवै देशका नागरिकको उद्दार गरि आ(आफ्नो देशमा जानदिने सहमति अनुसार १ हजार ४ सय बढी भारतीयलाई पठाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताउनुभएको छ।
भारतको बहराइच प्रहरीले नेपाल आउने ७ सय १४ जना नेपालीको नामावली पठाए पनि बिहीबार मध्यरातसम्म ६ सय ८७ नेपालीमात्र नेपालगञ्ज प्रवेश गरेको उहाँले बताउनुभयो।
नेपाल प्रवेश गरेका सबै नेपालीको आरडीटी जाँच शुरु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभएको छ। नेपाल प्रवेश गरेकाहरुको नेपाली सेनाले स्थापना गरेको टेन्टमा आरडिटी जाँच शुरु भइसकेको छ। आरडीटी जाँचमा नेगेटिभ देखिए सम्बन्धित जिल्लामा पठाउने र पोजेटिभ देखिए थप जाँचका लागि कोरोना अस्पताल पठाउने गरि तयारी गरिएको छ ।