सल्यान, ८ माघ । सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् ।
रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमध्ये रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका १० कि ६५ वर्षीया छन्चरी बिकको मात्र सनाखत भएको छ ।
अरू दुई जना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट डेढ सय मिटर तल बस खसेर दुर्घटना भएको हो ।
बसमा कति जना सवार थिए भन्ने यकीन नभएको सल्यानका प्रहरी प्रमुख डीएसपी भरतबहादुर बिकले जानकारी दिए ।
घाइतेहरूको श्रीनगरको मोडल अस्पताल, कान्तिपुर मेडिकल र सल्यान जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।