Prakash Adhikari May 21, 2020

काठमाडौं, ८ जेठ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण उत्पन्न राष्ट्रिय संकटका समयमा समेत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी.शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका मन्त्रीहरु कमिशनमा निर्लिप्त भेटिएका छन् ।

कोरोना भाइरसको रोकथाम,नियन्त्रण र संक्रमित विरामीको उपचारको लागि स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विवादमा मुछिए लगत्तै सो सामान सेनालाई खरिद गर्न दिएर उताबाट तर मार्न उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल अग्रसर हुनुभयो । लकडाउन अवधिमै फास्ट ट्रयाकको परामर्शदाता चयनमा विवादमा आउनुभएका रक्षा मन्त्री पोखरेलले सेनामार्फत गर्न लाग्नुभएको स्वास्थ्य सामग्री खरिदको फाइलहरुउपर अहिले सार्वजनिक लेखा समितिले छानवीन थालिसकेको छ ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिएर नेपाल भ्रमण बर्ष २०२० अनायास रोक्न परेपछि रन्थनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपालस्थित विभिन्न देशका दूतावासहरु, नेपाली व्यापारीहरुले गर्ने चार्टर्ड उडानमा कमिशन एजेन्ट घुसाएर कमिशन खान उद्यत हुनुभएको छ ।

अष्ट्रेलियन राजदूतावासले गरेको चार्टड उडानमा वोन ट्राभल एजेन्सीलाई घुसाएर कमिशन खान उद्यत रहनुभएका मन्त्री भट्टराई सो प्रकरणमा सञ्चार माध्यमले उदांगो बनाएपछि दोस्रो उडानदेखि एजेण्ट हटाउन बाध्य हुनुभएको थियो ।

तर लकडाउनको अवधि बढ्दै गएको र निगमका अन्य खरिद कार्य, निर्माणाधीन एअरपोर्ट, पर्यटनका अन्य क्षेत्रबाट आउने संभाव्य कमिशनको मार्ग अवरुद्ध भएपछि उहाँले निगमले चार्टड गर्ने विमानबाट आउने कमिशनमा माया मार्न सक्नुभएन ।

मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार अहिले मन्त्री भट्टराईले सुमेघ टुर्स एण्ड ट्राभल्सका मेघ के.सीलाई चार्टर्ड उडानमा एजेन्टको रुपमा घुसाउन नेपाल वायुसेवा निगमको व्यवस्थापनलाई दबाब दिनुभयो र निगमले उहाँलाई जापानमा हुने उडानको एजेन्टको जिम्मा दिएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण नेपालबाट विदेशमा रहेको आफ्नो कर्मक्षेत्रमा जान नपाएर अलपत्र परेको स्वदेशी तथा विदेशी र विदेशबाट नेपालको मातृभूमिमा आउन ईच्छुक नेपाली तथा नेपाललाई कर्मक्षेत्र बनाएका विदेशी नागरिकलाई ओसार्न गरिने चार्टड उडान वास्तवमा संकटको बेलामा सरकारले गर्ने उद्धार अन्तरगतकै कार्यमा पर्न आउछ । तर संकटको बेलामा गरिने मानवीय उद्धार कार्यमा पनि मन्त्री भट्टराईले कमिशन मोह देखाउनुभएकोले जापान जाने र जापानबाट आउने नेपालीले नियमित भाडाभन्दा झण्डै चार गुणाबढी भाडा तिर्नुपरेको छ ।

निगमले जापानको ओशाकामा गत भदौ १२ बाट नियमित उडान सञ्चालन गर्दा भाडा दर मूल्य अभिबृद्धि करसहित एकतर्फी ३६ हजार ९ सय ९९ रुपैयाँ दुईतर्फी भाडा ७२ हजार ८ सय १४ रुपैया कायम गरेको थियो ।

यस्तै निगमले फागुन १९ गते (२ मार्च २०२०) देखि सुरु गरेको जापानको राजधानी टोकियो नजिकको नारिता अन्तराष्ट्रिय विमानस्थलसम्मको एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरिएको थियो।

यात्रामा विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ के.जी. का २ ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेलाई प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा व्यागेजको सुविधा दिइएको थियो ।

तर कोरोना संकटका कारण जापानको नियमित उडान बन्द भएपछि जापान जाने नेपाली तथा जापानी नागरिकहरुले गरेका चार्टड र जापानमा रहेका नेपालीहरुले नेपाल फर्किन गरेको चार्टड उडानमा निगमले घुसाएका ट्राभल एजेन्ट मेघ के.सी.ले प्रति व्यक्ति १ हजार ८ सय देखि २ हजार ४ सय डलर भाडा असुल्नुभएको छ । नियमित भाडा दर हालको विनिमय दर अनुसार जम्मा ३ सय ५ डलर जति पर्नेमा ६ देखि ८ गुणा बढी भाडा लिएर यात्रुहरुको चरम शोषण गरिएको मन्त्रालयको उच्च स्रोतले बताएको छ ।

निगम स्रोतले जनाए अनुसार जापानको लागि ६ उडान बुकिड. भएका थिए । त्यसमा दुई उडान सम्पन्न भैसकेको छ भने ४ उडान बाँकी रहेको छ ।

कोरोना भाइरसको संक्रमणको महामारी विश्वव्यापी रुपमा देखा पर्न थालेपछि नेपालले गत चैत्र ११ गतेदेखि देशभर निरन्तर लकडाउन गर्दै आएको छ र यो अवधि जेठ २० गतेसम्म लम्ब्याइएको छ ।

लक डाउनका कारण नेपाल वायुसेवाका पनि आन्तरिक र अन्तर्राष्ट्रिय हवाईसेवाहरु बन्द भएका छन् । निगमले यस अवधिमा चार्टर्ड उडानबाट केही आम्दानी गरेको छ । बन्दबन्दीकै अवस्थामा नेपालले चीनको बेइजिड., चाड.सा, ग्वाजाओ, अष्ट्ेलियाको ब्रिसबेन र सिड्नी, जापानको नारिता,नयाँ दिल्ली, ढाकामा चार्टड उडान गरेको छ ।

नेपाल वायुसेवा निगमका दुई वाइड बडीका विमानहरु कहिले यात्रु ओसार्न र कहिले नेपाली व्यापारीहरुको स्वास्थ्य सामग्री ओसार्न प्रयोग भैरहेकोले नेपाली सेनाले खरिद गर्ने स्वास्थ्य सामग्री ल्याउन निगमका विमानहरुको पालो कुर्नुपरेको बताइन्छ । तर मन्त्रालय स्रोतका अनुसार नेपाली सेनामार्फत नेपाल सरकारले खरिद गर्ने सामान पहिले आएमा निजी क्षेत्रका सामान कम बिक्री हुनेभएकोले विवादास्पद ओम्नी ग्रुपको षड्यन्त्रमा ऊ सहितका निजी क्षेत्रका व्यवसायीहरुले निगमका जहाजहरु पहिल्यै बुकिड.गराइदिएका छन र उनीहरुको सामान भटाभट आएर स्वास्थ्य सेवाविभागले उनीहरसंग खरिद गरी देशभर वितरण गरिरहेको छ । सरकारले सेनामार्फत खरिद गर्ने सामानहरु सबै आइपुगेको छैन् ।

नेपाल वायुसेवाको कार्यकारी अध्यक्ष बन्नुभएका सुशील घिमिरे नयाँ विमान खरिदका लागि लिएको ३४ अर्ब रुपैयाको साँबा ब्याज तिर्न नसक्ने राष्ट्रिय ध्वजाबाहक विमान सञ्चालन गर्ने संस्थालाई कसरी चलाउने भन्नेमा किं कर्तव्य विमूढ हुनभएको छ ।

यसलाई कम्पनीमा परिणत गरी निजीकरण गर्ने सम्बन्धमा गत बर्ष उहाँले बुझाउनु भएको प्रतिवेदन कार्यान्वयनको अनुकूल परिस्थितिको अभाव देखिरहनुभएका कार्यकारी अध्यक्ष घिमिरेले केन्द्रीय कार्यालयको टिकट काउण्टर भाडामा लगाउने नयाँ बिजनेश मोडल अगाडि सार्नुृभएको छ । तर चुनौतीहरुको पहाड खडा भएको निगममा यो सानो सुधारले कुनै तात्विक योगदान गर्न नसक्ने बताइन्छ ।

Share Now

Leave a comment.