Prakash Adhikari May 21, 2020

काठमाडौं, ८ जेठ । सुदूरपश्चिम प्रदेश अन्तरगतका स्थानीय तहका प्रतिनिधिहरुले रोजागारीको निमित्त भारत र अन्य तेस्रो मुलुक पुगेका नेपालीहरु फर्केपछि तिनको सुरक्षित व्यवस्थापन निकै चुनौतीपूर्ण हुने बताएका छन् ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.ले बुधबार आयोजना गरेको कोरोना भाइरसको संक्रमण र खानेपानी,सरसफाई र स्वच्छता विषयक जुम भिडियो कन्फरेन्समा सहभागिता जनाउदै सुदूरपश्चिम प्रदेशका स्थानीय तहका प्रतिनिधिहरुले यस्तो समस्या दर्शाएका हुन् ।

स्मार्ट वास सोलुसन्सले कोरोना भाइरस संक्रमणबाट बच्न स्थानीय तहका प्रतिनिधिहरुलाई जागरुक गराउनका लागि खानेपानी तथा सरसफाईको क्षेत्रबाट गर्न सकिने योगदानको बारेमा जानकारी दिने उद्देश्यले हरेक प्रदेशका स्थानीय तहका प्रतिनिधिहरुसंग यस्तो कन्फरेन्स गर्दै आएको छ ।

भिडियो कन्फरेन्समा बोल्दै बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले भन्नुभयो, ‘यहाँ भएको जनसंख्यालाई सचेत बनाउने र शंकास्पदलाई क्वारेन्टाइनमा राख्ने कार्य अहिलसम्म व्यवस्थापन भएको छ तर पालिकाका आधा जनसंख्या भारतमा रोजगारीको लागि गएको छ र उनीहरु आफूलाई ल्याउन हार गुहार गरिरहेको अवस्था छ , तिनीहरु आएपछि उनीहरुको व्यवस्थापन गर्न गाँउपालिकालाई निकै कठिनाई पर्ने देखिएको छ ।’

उहाँले भारतमा रहेका अस्थायी कामदारहरुबाट लकडाउनको कारण रोजगारी गुमेको, बस्न र खान समस्या भएको र भोकै पर्न थालेकोले उद्धार गरिदिन पनि अनुरोध आएको बताउदै भन्नुभयो, ‘आफ्नो देशका नागरिक हुन्, आफ्नो गाँउका दाजुभाई दिदीबहिनी दुःखमा परेपछि ल्याउनु पर्छ । सरकारको नीति अन्तरगत नै रहेर तिनीहरुलाई ल्याएपछि तिनको स्वास्थ्य परीक्षण, क्वारेन्टाइन व्यवस्थापन, अनुगमन गर्ने कार्य निकै चुनौति पूर्ण देख्छु ।’

उहाँले भन्नुभयो, ‘केन्द्र सरकार नीति र निर्देशनमात्रै दिने,प्रदेशले केही नदिने भएकोले सबै काम स्थानीय निकायले हेर्न पर्ने अवस्था छ । क्वारेन्टाइन केन्द्रहरुमा ओढ्ने ओछ्याउने लुगाफाटोको व्यवस्था गर्न सकिएको छैन, स्वास्थ्यकर्मीहरु अहिल्यै मास्क, ग्लोब,स्यानिटाइजर, व्यक्तिगत सुरक्षाका उपकरण भएन भन्ने गुनासो गरिररहेका छन्, प्रवासी नेपाली आएपछि स्थिति भयावह हुने देख्छु । हामीलाई मानवीय र अन्य भौतिक स्रोत साधनको जरुरी छ ।’

उहाँले पालिकामा आएका अन्य क्षेत्रका नागरिकको आफूहरुले व्यवस्थापन गरेको चर्चा गदैै अन्य  क्षेत्रमा गएका आफ्नो पालिकाका नागरिकलाई पनि संबन्धित पालिकाहरुले हेरचाह र बन्दोबस्त गरिदिए समस्या समाधान निकै सहज हुँने बताउदै भन्नुभयो, ‘बाहिरकालाई हामीले गर्नुपर्ने र हामीले बाहिरबाट सहयोग नपाउने स्थितिले हामीलाई भोलि आर्थिक तथा भौतिक स्रोतको ठूलो अभाव खट्किने देख्छु ।’

कार्यक्रममा सहभागिता जनाउदै सिलगढी दिपायल नगरपालिकाका प्रमुख मञ्जु मलासीले भारतमा रोजगारीका लागि  गएका पालिकाका २४ हजार जना फर्किन तयार भएकोले उनीहरुको व्यवस्थापन चुनौति पूर्ण भएको बताउनुभयो ।

उहाँले नगरपालिकाका गर्न पालिकाको ९ वटा बडाहरुले प्रत्येकले २ हजार ६ सय जतिका दरले व्यवस्थापन गर्नुपर्ने चुनौति थपिएको बताउनुभयो ।

कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख टपेन्द्र रावलेले भारतमा कोरोना संक्रमणको दर बढ्दै गएकोले नेपाल प्रवेश गरी आफ्नो घरबासमा आउने सबैलाई कोरोनाभाइरसको परीक्षण गर्ने, अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने,नियमित स्वास्थ्य परीक्षण गर्ने र परीक्षण नतिजा नेगेटिभ आएकालाई परिवारमा समायोजन गर्ने तथा पोजेटिभ आएकाको स्वास्थ्योपचार गरी निको बनाएर परिवारमा पठाउने कार्य चुनौतिपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका प्रा. दीपकचन्द्र भट्टले लकडाउन सुरु हुनेवित्तिकै भारतबाट आफ्ना नागरिक उद्धार गर्न सरकारले प्रयास गरेको भए भारतबाट फर्कने नेपाली कोरोनाको संक्रमणमा पर्ने संभावना क्षीण रहने बताउनुभयो । उहाँले भन्नुभयो,  ‘आफ्ना नागरिकको जीउ ज्यानको सुरक्षा गर्ने कर्तव्यबाट राज्य विमुख हुन सुहाउँदैन । अब आफ्नो पालिका बासिन्दालाई फिर्ता ल्याउदा जनप्रतिनिधिहरुले पनि एक्ला एक्लै आउनभन्दा संबन्धित क्षेत्रका जम्मा भएर व्यक्तिगत सुरक्षणका सावधानी अपनाएर गाडीमा ल्याउने व्यवस्था गर्नुपर्यो । ल्याएपछि सीमा प्रवेशमा थर्मल गनले परीक्षण गर्ने, स्वाव संकलन गर्ने,सन्देहास्पदलाई सीमा क्वारेन्टाइन र आइसोलेसन केन्द्रमा राखी बाँकीलाई संबन्धित पालिकामा पठाउन सकियो भने व्यवस्थापन सहज हुने देखिन्छ ।’

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले भारतबाट सुदुरपश्चिम प्रवेशको मुख्यद्धार गड्डाचौकी नाका परेकोले भारतबाट आउने हरेक नेपालीको स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेशको बन्दोबस्त मिलाइएको बताउनुभयो । उहाँले नगरपालिकाका उचित स्थानहरुका क्वारेन्टाइन र आइसोलेसन केन्द्र स्थापना गरिएको बताउदै तिनमा नेपाल सरकारले निर्धारित गरेका न्यूनतम् पूर्वाधार र सरसफाईको सुविधाको मापदण्ड पूरा गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मी,सरसफाईकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरु कोरोना भाइरसको संक्रमणको उच्च जोखिम रहेको बताउदैं उनीहरुलाई व्यक्तिगत सुरक्षा सामान तथा उपकरणहरु पर्याप्त दिनुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

उहाँले नगरपालिकाले महाकाली जल सम्मेलन गर्ने तयारी गरेको उल्लेख गर्दै सफा र स्वच्छ पानीको उपलब्धताको लागि स्रोतहरुको संरक्षण गर्न सबै सामुदायिक बनमा पानी पोखरी निर्माण गरिएको,पानीको २५ बर्षे गुरुयोजना बनाइएकोे र फोहरमैला तथा ढल व्यवस्थापनका सुनियोजित ढंगले काम थालिएको दाबी गर्नुभयो ।

उक्त भिडियो कन्फरेन्समा मंगलसेन नगरपालिका अछामकी उपप्रमुख सरिता उपाध्ययले नगरपालिकामा खानेपानी र सरसफाईको स्तर सुधारिदै आएको बताउनुभयो । उहाँले जिल्ला खानेपानी कार्यालयबाट ४१ करोडको आयोजना सञ्चालन भएको र प्रदेश सरकार र स्थानीय तहबाट पनि स्थानीय मूलहरुको व्यवस्थापन गर्दै साना आयोजनाहर सञ्चालनमा आइरहेकोले नगरपालिकामा खानेपानीको परिमाण बढ्दै गएको बताउनुभयो । उहाँले पानीको गुणस्तर कायम गर्न ब्लिचिड. पाउडरको उपयोग गरिएको बताउनुभयो ।

बर्षामा पहिरो र बाढीले खानेपानीका प्रणाली बिगार्ने र खानेपानी धमिलो हुनेजस्ता समस्या रहेको पनि उहाँको गुनासो थियो ।

कार्यक्रममा मोहन कुँवरले पानीको मुहान सुक्दै जाने, चुरेको वातावरणीय विनासले स्रोत सुक्ने, तराई क्षेत्रमा पानीको सतह तलतल जाने र भूमिगत पानीमा आर्सेनिक पाइने जस्ता कारणले पर्याप्तमात्रामा पिउनयोग्य सुरक्षित र स्वच्छ पानी आपूर्ति गर्ने कार्य चुनौतिपूर्ण रहेको बताउनुभएको थियो ।

कार्यक्रममा महाकाली नगरपालिका दार्चुलाका प्रमुख हंशराज भट्टले नगरक्षेत्रमा खानेपानीको आपूर्ति र सरसफाईको व्यवस्थापनमा नयाँ ढंगले काम गर्न थालिएको बताउदै संघीय र प्रादेशिक सरकार अन्तरगतका निकायले संबन्धित स्थानीय तहमा हुने विकास आयोजनाका कागजातको एकप्रति स्थानीय तहलाई दिनुपर्ने त्यसले आयोजनाको तर्जुमा,कार्यान्वयन र अनुगमन मूल्यांकन तथा मर्मतसंभारमा सजिलो पार्ने बताउनुभयो ।

कार्यक्रममा कैलालीका सांसद नारदमुनि रानाले कोरोना भाइरसले राजनीतिक विचारधारा र पार्टीगत आधारमा कसैमाथि दया नगर्ने भएकोले आफ्नो घरपरिवार,टोल,गाँउ,शहर, जिल्ला,प्रदेश र राष्ट्रलाई यसबाट जोगाउन सबैले समन्वयपूर्ण ढंगले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले जारी गरेका नीति,नियम र निर्देशनहरु हाम्रो हितमा जारी भएका हुन् भन्ने विश्वासपूर्वक सबैले स्वयं क्वारेन्टाइन र एकान्तबासमा बस्ने बानी विकसित भएमा हालको समस्या सहज ढंगले समाधान हुने बताउनुभयो ।

कार्यक्रममा स्मार्ट वास सोलुसन प्रा.लि.का अध्यक्ष ई. रामदीप साहले कोरोना भाइरसको संक्रमण र खानेपानी तथा सरसफाईको महत्व, स्मार्ट वास सोलुुसनका प्रमुख कार्यकारी अध्यक्ष ई।हरिप्रसाद शर्माले नेपालमा कोरोना भाइरसको संक्रमणको अवस्था, स्वच्छ खानेपानी र सरसफाईको महत्व तथा खानेपानी स्वच्छ राख्न क्लोरिनेशन विधिको प्रयोग तथा डा। इन्दिरा पराजुलीले कोरोना भाइरस संक्रमण र सरसफाईको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पूर्वमन्त्री ई. गणेश साहद्धारा सहजीकरण र समन्वय गरिएको सो कार्यक्रममा खानेपानी विभागका कविन्द्रविक्रम कार्की, भोजराज पन्त, पद्मराज जोशी र सांसद शरतसिंह भण्डारीले पनि खानेपानी, सरसफाई र कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणबारे बोल्नुभएका थियो ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*