मिनियापोलिस(संयुक्त राज्य अमेरिका), १९ जेठ(बीबीसी) । अश्वेत अमेरिकी नागरिक जोर्ज फ्लोइडको हत्यालाई लिएर अमेरिकाभरि अशान्ति फैलिएका बेला मृतकको परिवारिक वकिल बेन्जामिन क्रम्पले प्रहरीलाई ‘पूर्वनियोजित हत्या’ को आरोप लगाउनुभएको छ।
फ्लोइडको हत्या गर्ने मिनियापोलिसका प्रहरी डेरेक शोभिनमाथि अञ्जानमा गरिएको हत्याको अभियोग लगाइएको छ।
तर वकिल बेन्जामिन क्रम्पले सीबीएस न्यूजलाई भने उक्त हत्या जानीजानी गरिएको बताउनुभएको छ।
‘उनको हत्या गर्ने आशय थियो… फ्लोइडले श्वास फेर्न दिन अनुरोध गरिरहँदा पनि उनले झण्डै नौ मिनेटसम्म आफ्नो घुँडाले घाँटीमा थिचिरहेका थिए’, क्रम्पले भन्नुभयो।

फिलडेल्फीयास्थित दुईवटा टेलिभिजनले आइतबार त्यहाँ युवाहरूले प्रहरीका कैयौँ कारहरू तोडफोड गरेको र कम्तीमा एउटा पसलमा लुटपाट मच्चाएको देखाएका थिए।
फ्लोइडको हत्यालाई लिएर फिलडेल्फीयाबाहेक प्रदर्शनकारीहरू छैठौँ दिन पनि अमेरिकी सहरहरूमा भेला भएका छन्।
२० भन्दाबढी राज्यमा कर्फ्यू
हिंसाहरू नदोहोरिउन् भनेर देशभरका २० भन्दा बढी राज्यमा कर्फ्यू लगाइएको छ।
मिनियापुलिसमा फ्लोइड मारिएकै ठाउँमा प्रदर्शनकारीहरू जम्मा भएका छन्।
वासिङटनमा ह्वाइट हाउस नजिकै प्रदर्शनकारीहरूलाई रोक्न दङ्गा प्रहरी खटिएका छन्।
भिडलाई नियन्त्रण गर्न अमेरिकाभर ५,००० भन्दा बढी न्याश्नल गार्डका सदस्यहरू परिचालन गरिएको छ।
तर पनि थुप्रै ठाउँमा प्रदर्शनकारीहरू विरोधमा उत्रिएका छन्।

फ्लोइडको हत्यालाई लिएर मिनियापोलिसबाहेक अन्य राज्यहरूमा पनि भएका आक्रोशले वर्षौंदेखि रहेको सामजिक र आर्थिक असमानतालाई प्रतिबिम्बित गर्छ।
मिनसोटाका गभर्नरले शनिवार त्यहाँ न्याश्नल गार्ड परिचालन गर्न लागेको बताउनुभएको थियो। दोस्रो विश्वयुद्धयता त्यसरी न्याश्नल गार्ड परिचालन गरिएको यो पहिलोपटक हो।
आतङ्कवादी सङ्गठनको सङ्ज्ञा
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिंसात्मक प्रदर्शन भइरहेका बेला एन्टिफासिस्ट मुभमेन्ट एन्टिफालाई आतङ्कवादी सङ्गठन भन्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका महान्यायाधिवक्ता विलियम बारले पछिल्ला केही दिनमा भएका दङ्गामा अराजकता देखिएको र त्यसका लागि वामपन्थी समूहहरू दोषी रहेको आरोप दोहोर्याउनुभएको छ।
एन्टिफा आधिकारिक सङ्गठन नभएकोले उसलाई आतङ्कवादी भनेर कसरी भन्न मिल्छ त्यो स्पष्ट भएको छैन।
अमेरिकाबाहिर पनि विरोध
फ्लोइडकै हत्यालाई लिएर लण्डनस्थित अमेरिकी राजदूतावासबाहिर पनि करिब एक हजार मानिसहरूले र्याली निकालेका छन्।
उक्त र्यालीमा भाग लिने धेरैले ूब्ल्याक लाइभ्स म्याटरू अर्थात् अश्वेतको जीवनले अर्थ राख्छ भन्दै चिच्याएका छन्।
बर्लिनस्थित अमेरिकी राजदूतावासबाहिर दोस्रो दिन पनि सयौँ प्रदर्शनकारीहरू भेला भएका छन्।


















