काठमाडौं, २३ जेठ । कोरोना भाइरस संक्रमणको कारण अबलम्बन गरिएका लकडाउनका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका नेपाली आज शुक्रबारदेखि स्वदेश ल्याइने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जेठ २३ गते म्यानमार र संयुक्त अरब इमिरेट्समा अलपत्र परेका नेपाली ल्याइने छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीकाअनुसार सयुक्त अरब इमिरेट्सको युएईबाट एयर अरेबियाको जहाज आउने तालिका रहेको छ। सारजाहबाट १ सय ८६ यात्रुसहित आउने उक्त जहाज ११ः ४५ मा काठमाडौं अवतरण गर्ने तालिका रहेको छ।
म्यानमारबाट एयर फोर्सको जहाजबाट ४१ जना नेपाली आउने र यताबाट २६ जना लिएर जाने उडान कार्यक्रम रहेको क्षेत्रीले जानकारी दिनुभयो।
नेपाल सरकारको बन्दोबस्तीमा भएको यो राष्ट्रिय उद्धारको कामको जिम्मा भने सरकारले पूर्ण सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले पाएन । सरकारले नेपाल आउने नेपालीबाट न्यूनतम् शुल्क(भाडा) उठाउने नीति लिएको छ । दुई न्यारोबडी र दुई बाइड बडीका जहाज खरिद गर्दा लिएको कर्जाको साँबा र ब्याज तिर्न नसकेको ५० अर्ब माथिको ऋण चुर्लुम्म डुबेको निगमले यो काम पाएको भए कर्मचारीको तलब र सामान्य सञ्चालन खर्च जुटाउन सहज हुने निश्चित थियो ।
तर गोरा अनुहारका पर्यटन मन्त्रीको वरिपरि झुम्मिएका कालो मनका कमिशन खोरहरुले निगमको उडानमा सिधै कमिशन खान अप्पठ्यारो पर्ने भएकोले अन्य वायुसेवालाई यो उद्धारको कामको जिम्मा दिएको आरोप मन्त्रालयका कर्मचारीहरुले लगाएका छन् ।
मन्त्रालयका कर्मचारी युवा मन्त्री भट्टराईको यति मोहबाट पनि चकित भएका छन् । उहाँका आसेपासेहरुले निगमका आन्तरिक सेवाका ट्वीनओटर जहाजहरुलाई पश्चिम नेपालमा औषधी र खाद्यान्न ढुवानीको काम पनि गर्न दिएका छैनन् । उनीहरुका अनुसार यो काम यति एअरलाइन्सको जहाजले गरिरहेका छन् । नेपालगञ्ज र सुर्खेतमा बेस बनाएर निगमका जहाजले यो काम गर्न सक्थे तर त्यहा पनि कमिशन खेलले बिगारेको छ ।
फर्किएकालाई होल्डिड. सेन्टरमा
विदेशबाट उद्धार उडानमा ल्याइने नेपाली यात्रुहरुलाई उनीहरुको स्यायी बास रहेको प्रदेश सरकारको जिम्मा नलगाइन्जेल सरकारले होल्डिङ सेन्टरमा राख्ने नीति लिएको छ।
उद्धार गरिएका नेपालीको व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाली सेनाले उद्धार उडानबाट आउने नेपालीलाई विमानस्थलको नयाँ भवनमा प्रदेशअनुसार छुट्टाछुट्टै राखेर हवाई उडान अघि ७ दिनसम्म सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षण प्रमाण पत्रको चेकजाँच गर्नेछ अनि प्रदेश प्रदेशका लागि तयार पारिएको होल्डिड. सेन्टरमा लगेर राख्ने व्यवस्था गरेको छ।
सेनाले प्रदेश १ र २ कालाई भक्तपुर, बागमती, गण्डकी र प्रदेशं ५ कालाई काठमाडौं तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरका होल्डिङ सेन्टरमा राख्ने तयारी गरेको छ।
प्रदेश १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेको छ।
वागमती, गण्डकी र प्रदेश नं ५ कालाई धुम्बाराहीको स्काइजोन पार्टी प्यालेस, चप्पल कारखानाको कुण्डलिनी दरबार बैन्क्वेट र बसुन्धराको यति इभेन्ट्समा राखिने भएको छ।
कर्णाली र सूदुरपश्चिम प्रदेशकालाई ललितपुर धोविघाटको सिद्धार्थ कटेज, मानभवनको डिलाइट पार्टी भेन्यु र ग्वार्कोको मण्डला पार्टी प्यालेसमा राखिने भएको छ।
सेन्टरमा पुग्नेवित्तिकै स्वास्थ्य मन्त्रालयको टोलीले स्वास्थ्य जाँच गर्नेछ । र, कुनै समस्या पाइए सिधै आइसोलेसनमा पठाउने तयारी गरिएको छ । म्यानमारबाट आउने २६ जनासँग पीसीआर नेगेटिभ भएको रिपोर्ट छ, त्यसैले उनीहरुलाई सिधै होम क्वारेन्टाइनमा पठाउने तयारी छ ।
यूएईबाट आउने अधिकांशको कोरोना परीक्षण भइसकेको छैन । त्यसैले अवस्था अनुसार उनीहरुलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राख्ने तयारी छ । र, होटल क्वारेन्टाइनमा बस्न चाहेको खण्डमा त्यसका लागि पनि नेपाली सेनाले संयोजन गर्नेछ । क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ ।
निगमको चार्टर्ड उडान रद्द
हङकङमा बसोबास गर्ने नेपाली बोकेर जान लागेको नेपाल वायुसेवा निगमको बिहिबारको न्यारोबडी जहाजको उडान रद्द भएको हो।वायुसेवा निगमको बिहीबार र शुक्रबार दुई/दुई उडान हंगकंगको लागि बुकिड. गरिएको थियो । तर हङकङ सरकारले बाहिरबाट आएका नागरिकलाई होल्डिड. सेन्टर र क्वारेन्टाइनको अभाव भएको जनाएपछि उडान रद्द भएको बताएको छ ।
हङकङमा व्यापार व्यवसाय, रोजागार, शैक्षिक संघ÷संस्था खुल्ला भइसकेकाले नेपालमा अडकिएका हंगकंगबासीहरु महंगो चार्टर्ड उडान गरी फर्किन लागेका थिए।
गत सोमबार मात्रै ३ उडानमार्फत करिब ५ सय ८० जना ८५ हजारदेखि १ लाखसम्म भाडा तिरेर हङकङ फर्किएका थिए।


















