काठमाडौं, २३ जेठ । सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने योजना अनुरुप म्यानमार र युनाइटेड अरब इमिरेट्समा अलपत्र नेपालीको पहिलो खेप राजधानी ल्याएको छ ।
युएईबाट १ सय ५७ जना नेपाली लिएर एयर अरबियाको जहाज काठमाडौं आइपुगेको छ।
कोरोना भाइरसको महामारीका कारण लकडाउन हुन गई कम्पनीहरुको काम बन्द भएपछि रोजगारी गुमेर अलपत्र परेका नेपाली लिएर एयर अरबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकृतका अनुसार इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका छन् ।
बिहानसम्म नेपाल सरकारको प्राथमिकतामा परेका र त्यहाँ अवस्थित राजदूताबासले वर्गीकृत गरी गर्भवतीसहित अन्य समस्यामा परेका नेपाली ल्याउने तयारी थियो तर उडान भाडा सम्बन्धी विवाद सिर्जना भएपछि त्यहाँका बीच दुई कम्पनीले एयरलाइन्ससँगको समन्वयमा आफ्ना कामदार नेपाल पठाउने निर्ण गरेपछि १ सय ५७ जना यात्रु लिएर एअर अरेबियाको जहाज नेपाल आएको थियो ।
पूर्वनिर्धारित प्राथमिकता सूची अनुसारका यात्रुहरु नआएपछि पहिलेको सूचीका यात्रुको पृष्ठभूमि अनुसार तयार पारिएको होल्डिङ सेन्टरको बन्दोबस्त नयाँ सूची अनुसार मिलाउन पर्ने भएकोले यात्रुहरुको व्यक्तिगत विवरण संकलन गरी प्रदेश अनुसार विभक्त गरेपछि मात्र होल्डिड सेन्टरको निक्र्यौल गर्नुपरेकोले यात्रुहरुको व्यवस्थापनमा नेपाली सेनालाई केही झन्झट थपिएको थियो ।
सरकारले हवाई मार्ग भारतसगका सीमा नाकाबाट आउने नेपालीहरुलाई प्रदेश अनुसार विभक्त गरी होल्डिड. स्टेशनसम्म ल्याएर राख्ने प्रयोजनको लागि नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको थियो ।
नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुगेका यात्रीहरुलाई व्यक्तिगत विवरणका आधारमा स्थायी बसोबास अनुसार प्रदेशगत विभक्त गरेपछि उनीहरुलाई सुरक्षित रुपमा राख्न काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टर तयार गरेको छ ।
होल्डिड. सेन्टरमा आवश्यक स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरेर आइसोलेसन, क्वारेन्टिन वा होम क्वारेन्टिनमा राख्ने तय हुनेछ । सो अनुरुप संबन्धित प्रदेश सरकारको जिम्मा लगाइनेछ। यस कार्यको सुव्यवस्थापनको लागि हरेक प्रदेशका लागि एक एक जना मन्त्रीलाई समन्वयको जिम्मा दिइएको छ।
नेपाली सेनाले प्रदेश १ र २ कालाई भक्तपुर, बागमती, गण्डकी र प्रदेशं ५ कालाई काठमाडौं तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरका होल्डिङ सेन्टरमा राख्ने बन्दोबस्त गरेको छ ।
उनीहरुलाई राख्नका लागि उपत्यकाका तीन जिल्लाका ८ वटा पार्टी प्यालेस तय भएका छन्। प्रदेश १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेको छ।
वागमती, गण्डकी र प्रदेश नं ५ कालाई धुम्बाराहीको स्काइजोन पार्टी प्यालेस, चप्पल कारखानाको कुण्डलिनी दरबार बैन्क्वेट र बसुन्धराको यति इभेन्ट्समा राखिने भएको छ।
कर्णाली र सूदुरपश्चिम प्रदेशकालाई ललितपुरमा राखिने भएको छ। उनीहरुलाई धोविघाटको सिद्धार्थ कटेज, मानभवनको डिलाइट पार्टी भेन्यु र ग्वार्कोको मण्डला पार्टी प्यालेसमा राखिने भएको छ।
म्यानमारमा नै स्वास्थ्य परिक्षण गरी म्यानमारको सेनाको विशेष विमानमा काठमाडौं आएका २६ जना नेपालीहरुलाई भने वसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । उनीहरुको व्यक्तिगत विवरण लिई अहिले उनीहरुलाई होम क्वारेन्टाइनमा पठाउने कार्य भइरहेको छ ।
यूएईबाट कम्तिमा १८ हजार नेपाली स्वदेश फर्कन चाहेको बताइएको छ । शुक्रबार आउनलाई तय भएका व्यक्तिसहित अन्यको उडान अब कहिले हुन्छ भन्ने निक्र्यौल भईसकेको छैन ।


















