Prakash Adhikari June 6, 2020

 

जेनेभा(स्वीजरल्याण्ड), २४ जेठ(बीबीसी) । विश्व स्वास्थ्य संगठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ।

डब्लुएचओका अनुसार मास्क लगाउँदा ‘सम्भावित सङ्क्रामक छिटालाई एकजनाबाट अर्कोमा सर्नमा अवरोध’ हुन्छ।

विगतमा उक्त संस्थाले मास्कले सङ्क्रमण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो।

अहिले नै कैयन् देशहरूमा मास्क लगाउन सुझाव दिइएका वा अनिवार्य गराइएका छन्।

कस्तो मास्क ?

डब्लुएचओकी प्राविधिक विज्ञ डा. मारिया भान कर्खोभले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै आफूहरूले आम मानिसलाई ‘कपडाको न कि मेडिकल मास्क’ लगाउन सुझाएको बताउनुभयो।

सो संस्थाले मेडिकल मास्क भने बिरामीले वा बिरामीको हेरचाह गर्नेहरूले मात्र लगाउनुपर्ने भन्दै आएको छ।

उसका अनुसार पछिल्लो सुझाव हालैका हप्ताहरूमा गरिएका अध्ययनहरूको निष्कर्षमा आधारित छन्।

‘हामी सरकारहरूलाई आम मानिसलाई मास्क लगाउन प्रेरित गर्न अनुरोध गर्छौँ’, कर्खोभले भन्नुभयो।

यसबीच डब्लुएचओले मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने विभिन्न उपायमध्ये एक उपाय मात्र भएको भन्दै यसले मानिसहरूलाई गलत तरिकाबाट ढुक्क भने पार्न नहुने बताएको छ।

‘मास्क मात्रैको प्रयोगले कोभिड-१९ बाट जोगाउँदैन’, डब्लुएचओका महानिर्देशक डा टेड्रस एडहानोम गेहब्रेयससले भन्नुभयो।

विश्वभरिमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या बढेर ६७ लाख पुगेको छ भने झन्डै ४ लाख मानिसको ज्यान गएको छ।

नयाँ सुझावको अर्थ

बीबीसीका विज्ञान सम्पादक डेभिड शुकम्यान भन्नुहुन्छ, ‘डब्लुएचओको पछिल्लो सुझावले उक्त संस्थामा आएको ठूलै परिवर्तनको सङ्केत गर्छ। महिनौँसम्म उसका विज्ञहरूले मास्कको प्रयोगले आम मानिस गलत ढङ्गबाट ढुक्क हुनसक्ने अनि त्यसले स्वास्थ्यकर्मीहरूका निम्ति आवश्यक मास्कको अभाव हुनसक्ने भन्दै आएका थिए।’

ती तर्क अझैपनि विद्यमान नै छन् तर डब्लुएचओले सङ्क्रमणको जोखिमबारे नयाँ प्रमाण पनि हेरिरहेको देखिन्छ।

‘यसले हालैको अनुसन्धानतर्फ इँगित गर्छ जसमा के उल्लेख थियो भने मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सुरुवाती दिनहरूमा अत्यन्त सङ्क्रामक हुन्छन् (अरूलाई सार्ने सवालमा) जबकि उनीहरूमा लक्षण देखिइसकेको हुँदैन’,शुकम्यानको भनाइ छ।

सार्वजनिक सवारीसाधन वा पसल वा शरणार्थी शिविर जहाँ सामाजिक दूरी सम्भव हुँदैन त्यहाँ घरेलु मास्ककै भएपनि प्रयोग गर्न सुझाव दिइएको छ।

६० वर्षभन्दा माथि उमेरका मानिसहरू जसलाई अन्य रोग पनि छ तिनले मेडिकल स्तरकै मास्क प्रयोग गर्न उचित हुने पनि डब्लुएचओले बताएको छ।

Share Now

Leave a comment.