काठमाडौ, २४ जेठ । नेपालमा विगत २४ घण्टामा थप ३ सय २३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३ हजार २ सय ३५ पुगेको छ।
तीमध्ये ३ सय ६५जना निको भएका र थप दुईसहित १३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको छ।
अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा कोभिड १९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।
मन्त्रालयले बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा ३ सय ३४ जनामा र शुक्रवार २ सय ७८ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो।

मृतक कहाँका ?
डा. देवकोटाका अनुसार डोल्पा र धनगढीमा एकएक जनामा मरणोपरान्त कोभिड १९ पुष्टि भएको छ।
जेठ २१ गते मध्यरातपछि मृत्यु भएका ५८ वर्षीय पुरुषबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनभाइरस देखिएको हो। उनी दमको रोगी भएको बताइएको छ।
ती व्यक्ति जेठ १६ गते सुर्खेतबाट फर्किई क्वारन्टाइनमा बसेका थिए।
धनगढीमा मिर्गौलाको समस्या भएकी ५५ वर्षीया महिलाको डाईयालिसिसको क्रममा मृत्यु भएको र पछि परीक्षण गर्दा उनमा कोरोनाभाइरस देखिएको डा. देवकोटाले बताए।
तर उनमा पहिला कोभिड(१९ को कुनै लक्षण नदेखिएको बताइएको छ।
के छ अरू तथ्याङ्क ?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार १ सय ११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने पीसीआर विधिबाट गरिएको परीक्षणको कुल सङ्ख्या ९२ हजार४ सय ७७ पुगेको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
जेठ २४ गते शनिवार अपराह्ण ४ ; ३० बजेसम्मको तथ्याङ्क
३,२३५ कुल सङ्क्रमण
७० प्रभावित जिल्ला
पीसीआर विधिबाट कुल परीक्षण ९२ हजार ४ सय ७७
चिकित्सकीय निगरानीमा अलग्गै २ हजार ८ सय ५७
देशभरि क्वारन्टीनमा१ लाख ६८ हजार ३१
अहिलेसम्म निको ३ सय ६५
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
क्वारन्टाइन भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
मन्त्रालयले अहिलेसम्म नेपालमा समुदायमा सङ्क्रमण नफैलिएको दाबी गरेको छ।
अहिले देशभरि १ लाख ६८ हजारभन्दा बढी व्यक्ति क्वारन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सर्वाधिक (६०,००० भन्दा बढी) र त्यसपछि क्रमश: प्रदेश नं ५ (४१,००० भन्दा बढी), कर्णाली प्रदेश (३२,००० भन्दा बढी) र प्रदेश नं २ (२१,००० भन्दा बढी)मा धेरै सङ्ख्यामा मानिसहरू क्वारेन्टाइनमा छन्।
जाजरकोट र डोल्पामा पनि सङ्क्रमित भेटिएपछि कोभिड १९ बाट प्रभावित जिल्लाको सङ्ख्या ७० पुगेको छ।
को हुन् सङ्क्रमित ?
नयाँ सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये एक छमहिने शिशुसहित केही बालबालिका पनि छन्।
तर अधिकांश सङ्क्रमित युवा र पुरुष छन्।
नेपालमा कोरोनाभाइरस / यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम
स्रोत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौं उपत्यकाका पाँच जनामा पनि सङ्क्रमण देखिएको छ।
नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोनाभाइरस देखिएका ४० मध्ये बाँकेका १२ र बर्दियाका २८ जना छन्।
उनीहरूमध्ये एक चार वर्षीय बालक र तीन महिला छन्।
मानव अधिकार आयोग चिन्तित
राष्ट्रिय मानव अधिकार आयोगले भारतबाट आएका नेपालीहरूलाई राखिएका क्वारेन्टाइन स्थलहरूलाई मापदण्डअनुरूप व्यवस्थित गर्न सरकारलाई आह्वान गरेको छ।

जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षलयको एकीकृत क्वारन्टीनमा भारतबाट आएका नागरिकलाई राखिएको छ र त्यहाँको सुरक्षाका लागि नेपाली सेनाको टोली खटेको छ
शनिवार जारी गरिएको प्रेस विज्ञप्तिमा आयोगले शुक्रवारसम्म नेपालमा कोभिड(१९ का कारण ज्यान गुमाएको पुष्टि भएका ११ जनामध्ये नौ जनाको मृत्यु क्वारेन्टाइनभित्र भएको र अहिले पनि डेढ लाखभन्दा धेरै मानिस क्वारन्टीनमै भएको औँल्याएको छ।
ूसङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकाले सङ्कट झनै लम्बिन सक्ने देखिन्छ। झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारेन्टाइन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेकोले आधारभूत मानव अधिकार संरक्षणमा समेत उदासीनता देखिएको छ,ू विज्ञप्तिमा उल्लेख छ।
साथै आयोगले लकडाउनको अवधिमा अनुगमन तथा समाचार सङ्कलनको क्रममा हिँडेका सञ्चारकर्मीहरूमध्ये २२ जना सञ्चारकर्मी गिरफ्तार, आक्रमण, धम्की र दुर्व्यवहारमा परेको भन्दै चिन्ता प्रकट गरेको छ।

गलेश्वरस्थित क्वारन्टाइन
योगाभ्यास गरिँदै
सूचना प्रदान गर्ने काममा उत्पन्न अवरोध अनि कतिपय श्रमजीवी पत्रकारहरूले पारिश्रमिक पाउन नसकेको र कतिपय सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेको भन्दै आयोगले नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने अवस्था आइपरेको आयोगले उल्लेख गरेको छ।
आयोगले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि देशभरि सञ्चालित क्वारन्टीनहरू मापदण्डअनुरूप व्यवस्थित सञ्चालन गर्न, क्वारन्टीनमा रहेकाहरूको पीसीआर परीक्षणलाई तीव्रता दिन तथा पत्रकारहरूलाई आवश्यक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।



















