काठमाडौं, २५ जेठ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।
नयाँ पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दर्ता गरिएको सो पार्टीले जनाएको छ ।
अशोक राई,डा.बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता रहनुभएको छ ।
आइतबार एकीकरण पूर्वका दुबै पार्टीका शीर्ष नेताहरूबीच बालकुमारीस्थित पार्टी कार्यालयमा भएको छलफलमा दुई जना केन्द्रीय परिषद् अध्यक्ष रहने र एक एक जना संघीय परिषद अध्यक्ष रहने गरी पार्टी दर्ता गर्ने सहमति जुटेको थियो ।
संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको थियो ।
नयाँ पार्टीमा ५जना पदाधिकारी राख्ने र केन्द्रीय समिति ५१ सदस्यीय बनाउने सहमति कायम भएको थियो ।
जनता समाजवादी पार्टीको पदाधिकारीमा केन्द्रीय परिषद् अध्यक्षका अलवा तीनजना बरिष्ठ नेताहरु रहनुभएको छ ।
गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो। भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोले दर्ता भएको थिएन।
नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएको ४५ दिनभित्र आवश्यक कागजात पुर्याएर दर्ता गर्नुपर्दछ । जनता समाजवादीले दर्ताको निवेदन दिएको शनिवार ४५ दिन पुगेपनि शनिवार बिदा परेकोले आज कार्यालय समयभित्रै आवश्यक कागजात पेश गरी दर्ता गरिएको हो ।
राजनीतिक दल सम्बन्धी ऐनमा दुई वा सोभन्दा बढी पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने प्रावधान छ । त्यसरी एकीकरण हुन चाहने दलहरुले एकीकरणको सम्झौता भएको ४५ दिन भित्र एकीकरण हुने वा गाभिने दलको विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।
निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ ।
प्रधानमन्त्री के.पी. ओली नेतृत्वको सरकारले मधेशका दुई दललाई विभाजन गरी एक एक हिस्सा आफ्नो पार्टीमा विलय गराएर सरकारको पक्षमा प्रतिनिधिसभाको दुई तिहाई समर्थन जुटाएर संविधानमा आफूखुसी संशोधन गरी कम्युनिष्ट अधिनायकवादी शासनलाई स्थापित गर्ने कलुषित मनशायले राजनीतिक दल सम्बन्धी ऐनमा दल विभाजन गर्ने प्रावधानलाई खुकुलो पारेपछि दुवै मधेश केन्द्रीत राजनीतिक दलबीच बैशाख १० गते मध्य रातमा एकता घोषणा भएको थियो ।
तर बैशाख ११ गते नै निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको सो पार्टीको नेतृत्वमा रहने पदाधिकारीको बारेमा सहमति कायम हुन नसकेकोल डेढ महिनासम्म दल दर्ता हुन सकेको थियो ।
मधेशमा अधिक प्रभावभएका दुई राजनीतिक दलहरु मिलेर बनेको जनता समाजवादी पार्टी अधिनायवादतर्फ उन्मुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी तथा सिथिल नेतृत्वका कारण अस्तित्व धरापमा पर्दै गएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विकल्पमा सशक्त तेस्रो शक्तिको रुपमा खडा भएको छ । यसले देश र जनताका मुद्दालाई कसरी संबोधन गर्दछ, यसको भविष्य त्यसैमा निर्भर रहनेछ ।


















