Prakash Adhikari January 23, 2018

पोखरा (कास्की),९ माघ । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरामा शुरु हुँदैछ ।

सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा माघ २० गतेसम्म हुने १६ औं संस्करणको आहा रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि शुरु हुन लागेको हो ।

प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक सहारा क्लवका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । उदघाटन कार्यक्रम दिउँसो १ः३० बजेदेखि हुने र कार्यक्रम समापन भएलगत्तै खेल शुरु हुने उनले बताए ।

प्रतियोगिताको उदघाटन खेलमा आयोजक सहारा क्लव पोखरा र सुदूरपश्चिम भिड्दैछन् ।

आयोजक सहारा क्लवले सोमबार साँझ खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा सहारा र सुदूरपश्चिम प्रतिष्पर्धामा उत्रिने जनाएको हो ।

आयोजक सहारा क्लवले आफ्नो बलियो टिम भएको दाबी गरेको छ । सुदूर पश्चिमसँग भिड्ने तयारीमा रहेको सहाराले राष्ट्रिय टिमका खेलाडी मानबहादुर तामाङसहित लक्ष्मण जिसी, आशिष गुरुङ, सरोज योञ्जन, रणदीप पौडेल, सुसन गुरुङ, विनोद गुरुङ, विषण गुरुङ, उत्तम गुरुङ, गौरव बुढाथोकी, खुर्पा लामा, त्रिदेव गुरुङ, रिचार्ड पुन, विजयकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, विशाल श्रेष्ठ र आकाश रानाभाटले खेल्ने सहारा क्लबले जनाएको छ ।

क्लबका अनुसार कोचमा किरण श्रेष्ठ, सहायक कोचमा प्रह्लाद हिराचन र म्यानेजरमा सुनील राना मगर छन् ।

खेल तालिका अनुसार पहिलो चरणको खेल अन्तर्गत माघ १० गते बुधबार भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लव, माघ ११ गते विहीबार विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ कलवबिरुद्ध संकटा क्लव र माघ १२ गते अर्को विभागीय टिम नेपाल पुलिस क्लव बिरुद्ध रमपम झापा ११ प्रतिष्पर्धामा उत्रिनेछ ।

प्रतियोगितामा ३ विभागिय टिमसहित १२ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विभागीय टिमसहित ३ वटा ए डिभिजन क्लव, ३ मोफसल, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिष्पर्धा गर्ने क्लवले जनाएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित हुन लागेको प्रतियोगितामा विभागीय टिमहरु नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी वलको एपिएफ क्लब, ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी, थ्रिस्टार, संकटा क्लब, मोफसलका रमपम झापा ११ फुटवल क्लब, धरान फुटवल क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढी, विदेशी टिम उत्तर बरिन्धरा क्लब बंगलादेश, युनाइटेड सिक्किम फुटवल क्लब भारत र आयोजक सहारा क्लवले प्रतिष्पर्धा गर्ने आयोजक सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने विदेशी टिम विगतको भन्दा बलियो रहेको आयोजकले दाबी गरेको छ । सिक्किम युनाइटेड अघिल्लो वर्ष सेमीफाइनलसम्म पुगेको टिम हो भने बंगलादेशको उत्तर बरिन्धरा क्लव बंगलादेशको ए डिभिजन क्लब भएको आयोजकको भनाइ छ । उत्तर बरिन्धरा क्लवमा बंगलादेशको राष्ट्रिय टिमका खेलाडीसहित केही विदेशी पनि खेलाडी भएकाले राम्रो र उत्कृष्ट भएकाले खेल प्रदर्शन पनि उच्चस्तरको हुने आयोजक सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।

प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशी बृद्धि गरिएको छ । आयोजक सहारा क्लव पोखराले प्रथम पुरस्कारमा २ लाख वृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख वृद्धि गरेर ३ लाख ५१ हजार पुर्याएको छ । बिजेतालाई नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर तथा बेष्ट अफ फाइभ विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष थापाले बताए । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई भने नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ ।

Share Now

Leave a comment.