Prakash Adhikari June 11, 2020

 

काठमाडौं, २९ जेठ । कोरोना भाइरसको संक्रमणको कारण लकडाउनमा परेर वा  रोजगारी गुमाएर विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि सरकारले कार्यतालिका सार्वजनिक गरेको छ ।

सरकारी कार्यतालिका अनुसार विदेशमा अलपत्र परेका नेपालीहरुको आगमन आजैबाट सुरु हुनेछ । आज कुवेतबाट अलजजिराको दुई जहाजमा त्यहाँ अलपत्र परेका नेपालीहरुलाई ल्याइदै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले एक जहाज बिहान ११ बजे अर्को अपरान्ह २ बजे अवतरण गर्ने जानकारी दिएको छ ।

सरकारले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएर अलपत्र परेका तथा अत्यावश्यक सहयोग खोजिगरिरहेका विभिन्न देशका २४ हजार १ सय ४८ जना नेपालीलाई उद्धार गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रहेका राजदूतावास तथा महावाणिज्य दूतावास, श्रम सहचरी, श्रम,रोजगार तथा सामाजिक सुधार मन्त्रालय, वैदेशिक रोजगार प्रबर्धन बोर्डको समन्वयमा तत्काल उद्धार गर्नुपर्ने नेपालीहरुको यो संख्या निर्धारण गरेको हो ।

परराष्ट्र मन्त्रालयले तयार पारी कोभिड १९ विपत् व्यवस्थापन समितिमार्फत कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई तत्का उद्धारका लागि यो सूची उपलब्ध गराएको थियो ।

उद्धारको प्राथमिकता र आउनेको संख्या

सरकारले विभिन्न सजाँयबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका तर नेपाल आउने अनुमति पाएका, बहिर्गमनको भिसामा रहेका, आफन्तको मृत्युका कारण नेपाल आउन पर्ने, करार समाप्त भएका वा रोजगारी गुमाएका, सुत्केरी र गर्भवति महिला,बालबालिका, अपांग, सरकारी कामकाज, अध्ययन वा तालिममा गएर अडकिएका, अध्ययन सकिएका विद्यार्थी,नेपाल आउने अवस्थामा रहेका विद्यार्थी,पारिवारिक भेटघाटमा गएका, कम्पनीबाट रोजगारीमा विदा सुविधा पाएका,अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपालमा आउन पर्ने अवस्थामा रहेका र पर्यटक तथा व्यापारिक भिसामा विदेशमा गएर अड्किएका नेपालीलाई उद्धारको प्राथमिकतामा राखेको छ ।

परराष्ट्रले तयार पारको सूची अनुसार मलेसियाबाट ६,४२५,कतारबाट ३,६०८,साउदी अरबबाट ३,३१२,कुवेतबाट २९९१,युइएबाट ४१०,ओमानबाट ६५६,बहराइनबाट ३७२,अष्ट्ैलियाबाट १,३००, मालद्धिपबाट ७२४, बंगालादेशबाट १८०,श्रीलंकाबाट ३६,पाकिस्तानबाट १२५, साइप्रसबाट ४७१, कम्बोडियाबाट ४१,थाइलैण्डबाट ३७५,सिंगापुरबाट ६१,भियतनामबाट ४,जापानबाट ९१६,दक्षिण कोरियाबाट २८२,इजराइलबाट ३९,युगाण्डाबाट १६१, नाइजेरियाबाट ९७, दक्षिण सुडानबाट १८, सुडानबाट ३१, मोरक्कोबाट ६३, लाओसबाट २, अमेरिकाबाट ५४३,ब्रिटिस टेरिटरीबाट ४९, क्यानडाबाट ७८,डेनमार्क,नर्वे,स्वीजरल्याण्ड र फिनल्याण्डबाट ७६ जना उद्धारको पर्खाइमा रहेका छन् ।

नेपालको उद्धार ३२ जेठबाट

सरकारले यही जेठ ३२ गतेदेखि असार ११ सम्म ३२ देशमा अलपत्र परेका नेपालीहरुलाई  ६७ उडानमार्फत उद्धार गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारी अनुसार यसमध्ये अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने नेपालमा दर्ता भएका नेपाल वायुसेवा निगम र हिमालय एअरले ४३ उडान गर्नेछन् भने विभिन्न विदेशी एयरलायन्सले २४ उडान गर्नेछन् ।

मन्त्रालयले दुई एयरलायन्सलाई दैनिक १० वटा उडानबाट नबढ्ने गरी तालिका बनाएको छ । नेपालका यी एअरलाइन्सको दैनिक २० उडान उडानबाट दैनिक १ हजार ८ सयजनाको उद्धार गर्नेछन् ।

नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले विदेशबाट दैनिक १४ उडानमार्फत २ हजार ६ सय ५६ यात्रुको नेपाल ल्याउन सक्ने प्रस्ताव गतसाता पठाएका थिए । एकैदिन ठूलो संख्यामा मानिस ल्याउँदा व्यवस्थापन गर्न कठिन हुने भएकाले तत्काल दैनिक १० उडानमार्फत मात्रै उद्धार गर्ने मन्त्रालयले अनुमति दिएको  छ ।

निगमसँग १ सय ५८ सिट क्षमताका एयरबस ३२० सिरिजका दुई र २ सय ७४ सिट क्षमताका एयरबस ३३० सिरिजका दुई थ जहाज छन् ।त्यस्तै हिमालय एयरलायन्सका पनि १ सय ५८ सिट क्षमताका एयरबस ३२० सिरिजका तीन  जहाज छन् । ती जहाजले प्रत्येक उडानमा ८५ प्रतिशत सिट भरिएपछि मात्रै उडान गर्ने पनि मन्त्रालयले जनाएको छ ।

कहाँ कहिले उडान 

उद्धारको क्रममा नेपाली एयरलायन्सले ४३ उडान गर्नेछन् भने विदेशका एयरलायन्सले २४ उडान गर्नेछन् । ४३ मध्ये नेपाल वायुसेवा निगमले २४ र हिमायल एयरलायन्सले १९ वटा उडानबाट उद्धार गर्नेछन् ।

मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नेपाल वायुसेवा निगमको जहाज वाइडबडीले ३२ गते बंगलादेशमा पहिलो उडान गरी नेपाली ल्याउनेछ । असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गरेर ल्याइनेछ । त्यस्तै असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडानमार्फत चार्टर गरेर नेपाल ल्याइनेछ । असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ । असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक चार्टर उडान हुनेछ ।

त्यस्तै, असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ । असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ । असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछ । असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर नेपाल ल्याइनेछ । असार ९ गते जापान, माल्दिभ्स, युएई र युगान्डाबाट दुई–दुई चार्टर उडान हुनेछ । असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ । त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछ ।

नेपाल आउन चाहने नेपालीले पिसिआर वा आरडिटीको नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेस गर्नुपर्नेछ । वायुसेवा कम्पनीले दूतावासमार्फत मात्रै समन्वय गर्नुपर्ने हुन्छ । यात्रु आइसकेपछि सरकारको निर्णयअनुसार क्वारेन्टाइनमा बस्नुपर्नेछ । सरकारले तोकेको भाडा करसहित भएकाले तोकेको भाडाभन्दा बढी असुल गर्न पाइनेछैन ।

भाडा महंगो भएको गुनासो 

सरकारले नियमित उडान नभएकोले चार्टर्ड उडानको लागि प्रतिव्यक्ति भाडादर पनि तोकेको छ । जस अनुसार ओमनमा ५१० डलर साउदी अरब दमाममा ५९० डलर, साउदी अरब रियादमा ६३० डलर, बैंकक, थाइल्यान्ड ३९० डलर, ढाका, बंगलादेशमा १६५ डलर,क्वालालम्पुर  मलेसियामा ५२० डलर, दोहा, कतारमा ५४५ डलर, युएईमा ५०० डलर, कुवेतमा ५७० डलर, कम्बोडियामा ४०० डलर, बहराइनमा ५४५ डलर, साउदी अरब जेदाहमा ७७० डलर, सुडानमा ९४० डलर,माले, माल्दिभ्स ५०५ डलर,  हङकङमा ५५० डलर,  दिल्लीमा २०५ डलर, मुम्बईमा ३१० डलर, बेंग्लोरमा ३३५ डलर, साइप्रसमा  ८७५ डलर, नारिता, जापान ९३५ डलर,  हिथ्रो (बेलायत)मा १३५० डलर र  फ्र्यांकफर्ट (जर्मनी)मा १२५५ डलर भाडा तोकिएको छ ।

सरकारको कार्यतालिका सार्वजनिक भएपछि विदेशमा काम गर्ने नेपालीले यो भाडा दर महंगो भएको प्रतिक्रिया दिएका छन् ।

विदेशमा बसेका रोहित लोहनीले रोजगारी गुमाएर अलपत्र परेको ४ महिना भएको बताउदै ५ सय डलर तिरेर आउन धेरै नेपालीलाई कठिनाइ हुने बताउनुभएको छ ।

त्यस्तै शिशिर राजले यो भाडाले त ६ महिना उतै बसेर खान पुग्ने बताउनुभएको छ । त्यस्तै बम बहादुर पुलामीले २ सय डलरको भाडामा ६ सय असुलेर उद्धारको फुँई दिन सरकारलाई नसुहाउने बताउनुभएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दयनिय आर्थिक अवस्था मनन गर्ने विज्ञहरुले सरकारले मजदूरहरु संकट परेको बेलामा उनीहरुसंगै लिएको बैदेशिक रोजगार सुरक्षण बापत लिएको रकमबाट उद्धार हुनु पने नभए सो रकमको सदुपयोग गरी सरकारी साझेदारीमा भाडामा सहुलियत दिन सकिने उपाय अबलम्बन गर्न सुझाव दिएका छन् ।

 

Share Now

Leave a comment.