Prakash Adhikari June 12, 2020

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको महिला फोरमले लैंगिक सन्तुलन कायम रहने गरी तर्जुमा गरिने बजेटबाट मात्र आर्थिक र सामाजिक विकासका लक्ष्य हासिल हुने बताएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको महिला फोरमद्धारा शुक्रबार आयोजित लैंगिक बजेट तर्जुमा र कार्यान्वयनका सन्दर्भमा गरिएको विशेष छलफल कार्यक्रमका सहभागी वक्ताहरुले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले वर्तमान सरकार सबै पक्षमा असफल भइसकेको हुनाले सरकारले संसदमा प्रस्तुत गरेको बजेट पनि लक्ष्यहीन भएको विचार प्रकट गर्नुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहालले सातै प्रदेश र पालिकाहरुमा पार्टीका तर्फबाट विजयीहरुलाई बजेटका विषयमा प्रतिष्ठानले कार्यक्रमहरुको आयोजन गरी बजेट र जेन्डर बजेटवारे प्रभावकारी रुपमा जानकारी गराउने बताउनु भयो ।

प्रतिष्ठानको महिला फोरमकी संयोजक डा. आरजु राणा देउवाले सभापतिको आसनबाट सरकारले बजेट बनाउँदा महिला, महिला स्वास्थ्य, प्रजनन, बालबालिका, अपांगता, असक्त आदिलाई केन्द्रमा राख्नु पर्ने र विपन्नमुखी बजेट बनाउनु पर्नेमा सरकार यसतर्फ उदासीन रहेको टिप्पणी गर्नु भएको थियो ।

बजेटका विषयमा अवधारणा प्रस्तुत गर्दै पूर्व अर्थ राज्यमन्त्री एवं नेपाली कांग्रेसका महासमिति सदस्य उदय शमशेर राणाले भन्नुभयो,’ लक्ष्य र दृष्टिकोण विनाको बजेटले मुलुकको आवश्यकता जसरी पूरा गर्न सक्दैन विकासका सम्भावनाहरुलाई पनि त्यसरी नै अझ टाढा पु¥याँउछ । सरकारसंग लक्ष्य र दृष्टिकोण दुबै देखिएन । त्यस्तै लैङ्गिक बजेट विज्ञ निग्मा ताम्राकारले बजेटको प्रकार, लैङ्गिक बजेटको विषय बारे आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो ।’

प्रस्तुत अवधारणा पत्रमाथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय संसदमा सचेतक पुष्पा भूसाल, केन्द्रीय सदस्य तथा सांसद ईश्वरी न्यौपाने, नेपाल महिला संघका सभापति तथा सांसद उमा रेग्मी, राष्ट्रिय सभामा सचेतक अनिता देवकोटाले टिप्पणी गर्नु भएको थियो । सहभागीहरुले समेत बजेट बारे आ—आफ्नो क्षेत्रबाट विचार प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य नानुमैयाँ वाँस्तोला र प्राविधिक संयोजन सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका पूर्व महासचिव ई। दीपेश विष्टले गर्नु भएको थियो ।

जुमका माध्यमबाट सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्य डा. सुषमा तिवारीले पार्टीका महिला केन्द्रीय सदस्यहरु, सांसदहरु, प्रदेश सभाका सदस्यहरु, विभिन्न भातृ संस्थाका प्रतिनिधिहरु गरी करीब १ सय ३० जनाको सहभागिता रहेको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्यहरु समेत सहभागी रहनुभएको थियो ।

Share Now

Leave a comment.