काठमाडौं, १ आषाढ । कोरोना भाइरसको संक्रामक महामारीको त्रासले आरम्भ भएको लकडाउनको कारण बन्द भएको विद्यालय स्तरको शैक्षिक कार्यक्रमलाई सुचारु राख्न सरकारले आज आषाढ १ गते सोमबारदेखि कक्षा १ देखि १० सम्मका सबै विषयको पढाइ वैकल्पिक विधिबाट सुरु गर्ने भएको छ ।
शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरका अनुसार विद्यार्थीहरु शैक्षिक शत्र खेर नजाओस भनेर सञ्चार प्रविधिको उपयोग गरी रेडियो(एमसहित), टेलिभिजन, इन्टरनेटका माध्यमबाट दूर शिक्षा सुरू गर्न लागिएको हो।
अधिकांश स्थानका सामुदायिक तथा सरकारी विद्यालयहरु कोरोनाभाइरस संक्रमण नभएको पुष्टि नभइसकेका सन्देहास्पद विरामी तथा बाहिरबाट आएका आगन्तुकहरुलाई राख्ने निगरानी स्थल (क्वारेन्टाइन)को रुपमा प्रयोग भएकोले तत्काल विद्यालय स्तरको पठनपाठन सुरु गर्न संभव नभएकोले यस वैकल्पिक विधिबाट अध्यापन र अध्ययनको प्रक्रिया थालिएको हो।

केन्द्रले विभिन्न विषयका विज्ञ शिक्षकहरुलाई निर्धारित पाठ्क्रम अनुसारका पाठ्य पुस्तकहरु प्रविधिको उपयोग गरी क्रमागत रुपमा दैनिक अध्यापन गराउने व्यवस्था मिलाउने छ । त्यसलाई रेडियो, टेलिभिजन र इन्टरनेट प्रविधिका माध्यमबाट सबैले सुन्न,हेर्न सक्ने गरी प्रशारित गरिने छ ।
विद्यार्थीले रेडियो नेपाल र स्थानीय एफएमहरु, विभिन्न टिभी च्यानल, मानव स्रोत केन्द्रको वेभ पेज र इन्टरनेट पहुँच हुनेले युट्युबबाट पनि पठनपाठनका सामग्री हेर्न, पढ्न र सुन्न सक्नेछन्।
केन्द्रका निर्देशक माधवप्रसाद दाहालले दूरशिक्षा कार्यक्रमको अनुसार समय निर्धारण गरेर टिभी, रेडियोबाट पठनपाठनको व्यवस्था मिलाइएको बताउनु भएको छ।
कुन टिभीबाट कुन बेला कुन विषयको पठनपाठन हुन्छ भन्ने जानकारी प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइसकिएको छ, दाहालले भन्नुभयो ।

शिक्षा मन्त्रालयले वैकल्पिक सिकाइ कार्यलाई निरन्तरता दिन श्रव्यदृश्य पाठ प्रसारण समय तालिका बनाइ असार १ देखि ३१ गतेसम्म एक महिनाका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पाठ्यक्रमभित्रको शैक्षिक ज्ञान लिने सुविधा प्रदान गरेको हो।
कक्षा १ देखि ८ सम्म आधारभूत तहका विद्यार्थीलाई विषयगत रूपमा सोमबारदेखि एनटिभी प्लस च्यानलबाट पढाइ सुरू हुन्छ।
माध्यमिक तह कक्षा ९ र १० का लागि डिसहोम टिभीमार्फत् विषयगत पठनपाठनको व्यवस्था मिलाइएको केन्द्रले जानकारी दिएको छ।
विद्यार्थीले यीबाहेक नेटटिभी र म्याक्स टिभीको विद्यालय शिक्षा च्यानलबाट पनि पढ्न सक्ने केन्द्रले जनाएको छ।
आधारभूत तहका कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि दैनिक एक विषयको पढाइ हुने व्यवस्था मिलाइएको छ भने माध्यमिक तहका कक्षा ९ र १० को लागि दैनिक ३ विषयको पढाइ हुने व्यवस्था मिलाइएको छ । शनिवार पढाइ हुने छैन ।

कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म दैनिक ३५ मिनेटको एक विषयको पठनपाठन हुनेछ भने कक्षा ९ र १० को हकमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पठनपाठनको समय तोकिएको छ। एक विषय शिक्षणको अवधि करिब ३५ मिनेटको हुन्छ।
केन्द्रले कक्षा ९ र १० को शिक्षालाई विशेष महत्व दिई ती कक्षाका अध्यापन सामग्री पुन प्रशारणको पनि व्यवस्था मिलाएको छ । केन्द्रले भोलिपल्ट तिनै सञ्चार माध्यममा बिहान ७ देखि ९ सम्म र बेलुका ५ देखि ७ बजेसम्म अघिल्लो दिन प्रशारित अध्यापन सामग्री पुन प्रशारण गर्ने व्यवस्था मिलाएको छ । यसले कुनै कक्षा छुटाएका विद्यार्थीलाई दिनको कुनै पनि समय आउने कार्यक्रम सुनेर वा हेरेर आफ्नो अध्ययनलाई अगाडि बढाउने अवसर प्राप्त हुनेछ ।
केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले सम्भव भएसम्म विद्यार्थीलाई सबै विषय पठनपाठन गराइने बताउनुभएको छ।
केन्द्रले कक्षा १ देखि १० सम्मका पाठ्य सामग्री रेकर्ड गराएको छ । केन्द्रका महानिर्देशक थपलियाले आवश्यक पर्ने स्थानीय तहले यसको छपाइ गरी आफ्नो क्षेत्रमा उपयोग गर्न सक्ने पनि बताउनुभएको छ ।

‘अहिले सबै विषय पढाइ नहुन सक्छ। लकडाउनमा घरमा रहेका विद्यार्थीलाई सिकाइ निरन्तर राख्न केही विषय भने पनि पढाउन लागेका हौं,’ थपलियाले भन्नुभयो।
वैकल्पिक विधि टिभी, रेडियो पहुँच नभएका विद्यार्थीलाई सिकाइ केन्द्र गठन गरेर स्वयमसेवी वा शिक्षक परिचालन गरी पाठ्यपुस्तक तथा सिकाइ सामग्री छापेर वितरण गर्ने व्यवस्था गरिने दावी महानिर्देशक थपलियाले गर्नुभएको छ ।
तर असारको एक महिनापछि कोरोना भाइरसको जोखिम कम भएका क्षेत्रमा शैक्षिक संस्थाहरु विस्तारै खोल्न सकिने संभावना पनि जीवितै छ ।


















