काठमाडौं, ४ आषाढ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संसोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ।
आजै राष्ट्रिय सभाबाट राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको विधेयक आज राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो।
प्रतिनिधि सभाले ३१ जेठमा सर्वसम्मतिले पारित गरेको विधेयकलाई राष्ट्रियसभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।
राष्ट्रियसभाबाट पारित भई पुन प्रतिनिधिसभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आज राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यस अघिको नेपालको निशान छाप परिवर्तन भएर नयाँ लागू भएको छ। सरकारले जारी गरेको नयाँ नक्साले पनि अब संवैधानिक मान्यता पाएको छ।
नेपाल सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट पास गरेको थियो ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
त्यसको दई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।
प्रतिनिधि सभामा समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने तथ्य र प्रमाण नपुग्ने भन्दै दर्ता गर्नुभएको संशोधन विधेयकलाई सभामुख सापकोटाले आफूमा निहित अधिकारको प्रयोग गर्दै अस्वीकृत गरिदिनुभएको थियो ।


















