काठमाडौं, ७ असार । गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि नेपालमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या २३ पुगेको छ।
यसअघि नै २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइसकेको छ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले दिनुभएको जानकारी अनुसार होम क्वारेन्टाइनमा रहेका उनको बिहीबार साँझ मृत्यु भएको थियो।
‘त्यसपछि उनको स्वाब परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशाला पठाइएकामा शनिवार दिउँसो रिपोर्ट कोरोना पोजिटिभ आएको थियो ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ती व्यक्ति प्यारालाइसिसका दीर्घरोगी थिए। उनी भर्खरै भारतबाट उपचार गराएर घर फर्केका थिए।
होम क्वारेन्टाइनमा बसेको त्यस्तै ८–१० दिनमा उनको मृत्यु भएको हो । अहिले उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।
नेपालमा कोरोनाबाट साढे ८ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तर तीमध्ये १ हजार ५ सय ७८ निको भइसकेका छन्।


















