Prakash Adhikari June 22, 2020

 

ब्रासिलिया (ब्राजिल), ८ असार (बीबीसी) । कोरोनाभाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ जहाँ ५० हजारभन्दा बढी व्यक्तिले कोभिड१९ बाट ज्यान गुमाएका छन्।

सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या दश लाखभन्दा बढी पुगेको पुष्टि गरिएको केही दिनपछि मृतकको सङ्ख्या विश्वमै दोस्रो बढी देखिएको हो।

तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र सङ्क्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताउँछन्।

यसअघि आइतवार स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा थप ६ सय ४१ जनाको मृत्यु भएको जनाएको थियो।

ब्राजिल

सङ्क्रमित

त्यो सङ्ख्या थपिएसँगै देशमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार ६ सय १७ पुगेको छ।

विगत २४ घण्टामा १७ हजार नयाँ सङ्क्रमित थपिएका छन्। मृतक र सङ्क्रमितको हिसाबले संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ।

त्यहाँ अहिलेसम्म २२ लाख सङ्क्रमणका घटना पुष्टि भएका छन् भने कोभिड १९ बाट १ लाख २० हजार व्यक्तिले ज्यान गुमाएका छन्।

मृत्यु हुने र सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू फेरि खुला गर्न थालिएका छन्।

ब्राजिल
साओ पावलोमा बोल्सोनारूका समर्थकहरू

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागु गरिएका प्रतिबन्धात्मक नियमहरूका कारण अर्थतन्त्र ध्वस्त भएको राष्ट्रपतिको दाबी रहिआएको छ।

यसैबीच, राष्ट्रपति बोल्सोनारूका हजारौँ समर्थक तथा विरोधीले देशका विभिन्न शहरमा समानान्तर प्रदर्शनहरूको आयोजना गरेका छन्।

सबैभन्दा ठूला प्रदर्शनहरू साओ पावलो, रियो द जेनैरो र राजधानी ब्राजिलियामा भएका छन्।

ब्राजिल
साओ पावलोमा बोल्सोनारूका विरोधीहरू

ब्राजिलियास्थित संसद्‌ र सर्वोच्च अदालत भवनबाहिर जम्मा भएका प्रतिद्वन्द्वी प्रदर्शनकारीहरूलाई प्रहरीले एकअर्कासँग मिसिन दिएनन्।

संसद्‌ र सर्वोच्च अदालतले राष्ट्रपति बोल्सोनारूको अधिकार कटौती गर्न चाहेको उहाँका समर्थकहरूको आरोप छ।

बिहीवार राष्ट्रपतिका पूर्वसहयोगी र तिनको परिवारका सदस्यलाई गिरफ्तार गरिएपछि विपक्षीहरूले बोल्सोनारूमाथि महाभियोग लगाउन माग गरेका छन्।

Share Now

Leave a comment.