Prakash Adhikari July 5, 2020

काठमाडौं, २१ आषाढ । देशको सबभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयले कोरोनाभाइरसको महामारीका कारण सुरु गरेको अनलाइन कक्षा सञ्चालनका लागि स्रोत र साधनको चुनौती खेपिरहेको अधिकारीहरूले बताएका छन्।

खासगरी विद्यार्थीहरू टाढाटाढा आफ्नो घर गाउँमा पुगेको र इन्टरनेट, कम्प्युटर जस्ता सूचना प्रविधिमा उनीहरूको सीमित पहुँच भएका कारण कतिपय सङ्कायका अध्ययनहरू बढी प्रभावित भएको जनाइएको छ।

कतिपय क्याम्पसका प्रमुखहरूले अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक परिमाणमा ल्यापटप र कम्प्युटर आफूहरूसँग नरहेको उल्लेख गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रारले करोनाभाइरसको महामारीपछि पनि सूचना प्रविधिमा आधारित शिक्षा प्रणाली विकास गर्ने हिसाबमा विश्वविद्यालयले काम गरिरहेको बताउनुभएको छ।

अनलाइन कक्षा सञ्चालनको अनुभव

गएको चैत महिनामा कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै सरकारले लकडाउन घोषणा गरेपछि त्यसको दुई साताभित्रै त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत् पठनपाठन गराउने तयारी अघि बढाएको थियो।

त्यसयता स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म वैकल्पिक शिक्षण विधिबाट अनलाइनमार्फत् कक्षाहरू सञ्चालन गरी अध्यापन गराइएको विश्वविद्यालयका अधिकारीहरूले बताउनुभएको छ।

अनलाइनबाट सिकाउँदै एक शिक्षक
तर राजधानी बाहिरका कतिपय आङ्गिक क्याम्पसका प्राध्यापकहरूले विद्युत र इन्टरनेटमा समस्या देखिएकाले सोचे अनुसार अध्यापन गराउन नपाएको गुनासो पनि गर्नुभएको छ।

जुम्ला बहुमुखी क्याम्पस जुम्लाका प्रमुख वसन्तराज भण्डारी भन्नुहुन्छ, “इन्टरनेट र बिजुलीको अनिश्चितताले अनलाइन कक्षाहरू चालउन गाह्रो भइरहेको छ। विद्यार्थीहरू पनि टाढाटाढाका छन् र उनीहरूसम्म पनि इन्टरनेटको राम्रो पहुँच नभएकाले गाह्रो छ।”

उच्च शिक्षा सुधार कार्यक्रम अन्तर्गत प्राप्त २० लाख रूपियाँ परिचालन गरी अनलाइनबाट अध्यापन गराउन सकेसम्म प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो।

तीनवटा विषयमा ६ सय भन्दा बढी विद्यार्थीहरूले स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेको भन्दै उहाँले थप्नुभयो, “विद्यार्थीको सहभागिता उत्साहजनक छैन। तर बिस्तारै यो बढ्दै जान्छ कि भन्ने हामीले ठानेका छौँ।”

चैत ११ गतेदेखि जारी लकडाउनलाई सरकारले जेठ २९ मा केही खुकुलो बनाएपनि कुनै पनि प्रकारका शैक्षिक संस्थाहरू हाललाई सञ्चालन नगर्ने उल्लेख गरेको छ।

शिक्षकहरूले ल्यापटप माग्छन्

जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका प्रमुख वीरेन्द्र यादव सम्पर्कमा आइरहेका विद्यार्थीहरूलाई अनलाइनबाट पढाइरहेको भए पनि समस्या रहेको बताउनुहुन्छ।

“प्राध्यापकहरूले वाइफाइको पैसा चाहियो। ल्यापटप चाहियो भनिराख्नुभएको छ। हामीसँग पैसा छैन कहाँबाट दिने ? हामीले यो कुरा विश्वविद्यालयमा पनि पुर्‍याइदिएका छौँ। तर उहाँहरूले पनि सङ्कटकालको अवधि छ कहाँबाट अलग्गै दिने भनिराख्नुभएको छ”, यादवले भन्नुभयो ।

उहाँ विद्यार्थीहरूलाई सम्पर्क गर्न गाह्रो भइरहेको बताउनुहुन्छ। “विद्यार्थीहरू गाउँगाउँमा गएर बसिरहँदा उनीहरूसँग सम्पर्क भइरहेको छैन। उनीहरूले मोबाइलबाट इन्टरनेट चलाउँदा समस्या हुन्छ। कहाँबाट पैसा ल्याउनेरु बत्ती पनि गइरहन्छ। सम्पर्क भएकालाई प्रयास गरिरहेका छौँ।”

रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा करार सहित एक सय जना प्राध्यापक र कर्मचारी कार्यरत रहेको र त्यहाँ करिब ५ हजार जति विद्यार्थीले अध्ययन गर्ने क्याम्पस प्रमुख यादव बताउनुहुन्छ।

क्षति कम गर्ने लक्ष्य

अनलाइनबाट विद्यार्थीलाई पढाउदै शिक्षक
अनलाइनबाट सिकाउँदै एक शिक्षक
त्रिभुवन विश्वविद्यालयले भने कोरोनाभाइरस महामारीपछि लगाइएको लकडाउनले शिक्षा क्षेत्रमा निम्त्याएको क्षति कम गर्न वैकल्पिक अध्ययन विधि अवलम्बन गरिएको भन्दै यसलाई सङ्ख्यात्मक रूपमा मात्रै आफूले नहेरेको जनाएको छ।

विश्वविद्यालयका रजिष्ट्रार डाक्टर पेशल दाहाल भन्छन्, “अहिले पनि हामीले हेर्दा ३० देखि १०० प्रतिशत सहभागिता सहित र औसतमा ६० प्रतिशत (कक्षाहरू) चलेको देखिन्छ। हाम्रो उद्देश्य इन्टरनेटमा पहुँच नपुगेका विद्यार्थीहरूलाई त्यसै छाडिदिने होइन। अनलाइनमार्फत् ५० प्रतिशतमात्रै पाठ्यसामग्री अध्यापन गर्न सकियो भने बाँकी कक्षा खुलेपछि गर्न सकिन्छ कि भन्ने सोचाइ हो।”

अनलाइन विधिबाट अहिले कक्षा लिन नसक्नेलाई पछि पठनपाठन नियमित भएपछि द्रूत विधिबाट अध्यापन गराएर हालको क्षतिलाई कम गर्न सकिने दाहालले बताउनुभयो।

त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत् पठनपाठन सुरु गर्ने निर्णय गरेपछि आफ्नो इतिहासमै पहिलो पटक एकीकृत इमेल प्रणाली लागु गरेको जनाएको छ।

माइक्रोस्फट अफिस ३६५ सँग समन्वय गरी विश्वविद्यालयका पदाधिकारी, शिक्षक र विद्यार्थीहरूले प्रयोग गर्ने इमेल खातामा एकरूपता ल्याइएको र एमएस टीम, गुगल र जूममार्फत् कक्षा सञ्चालन अघि बढाइएको विश्वविद्यालयका अधिकारीहरू बताउँछन्।

गएको वैशाखको दोस्रो साता त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षासम्बन्धी निर्देशिका जारी गर्दै आफ्ना विभागरक्याम्पस र स्कुलहरूले चैत १० गतेदेखि लिएका अनलाइन कक्षाहरूलाई नियमित कक्षा सरह मान्यता दिने घोषणा गरेको थियो।

भविष्यमा अनलाइन र कक्षा दुवैमार्फत् पढाइ

रजिष्ट्रार दाहालले अहिले अपनाइएको वैकल्पिक शिक्षण विधिलाई कोरोनाभाइरसको महामारी समाप्त भएपछि साधारण अवस्थामा फर्कँदा पनि सूचना प्रविधिलाई पठनपाठन पद्धतिसँग जोड्ने हिसाबमा छलफल चलिरहेको बताउनुभयो।

राजिष्ट्रार दाहाल भन्नुहुन्छ “भविष्यका लागि कक्षामा पनि पढाउने र अनलाइनमार्फत पनि पढाउने हिसाबमा नयाँ नीतिको प्रारूप नै बनाइसकेका छौँ। हामीले नेपाल दूरसञ्चार प्राधिकरणसँग पनि कुरा गरिरहेका छौँ र देशभरका क्याम्पसहरूलाई सूचना प्रविधिमा बलियो गरी जोड्ने हिसाबमा काम अघि बढाउँदैछौँ।”

Online schooling: Possibilities and concerns | The Indian Express
अनलाइनबाट पढदै विद्यार्थीलाई

उनका अनुसार विश्वविद्यालयका देशभरका आङ्गिक क्याम्पसमा न्यूनतम कम्प्युटरको सेवा उपलब्ध छ।

विश्वविद्यालय अन्तर्गतको खुला तथा दूर शिक्षा केन्द्रका निर्देशक गङ्गाराम गौतमले कोरोनाभाइरसको माहामारीका क्रममा हाल अघि बढाइएको अभ्यासलाई दीर्घकालीन रूपमा अध्यापन विधिमा सामेल गर्ने हिसाबले छलफल भइरहेको उल्लेख गर्नुभयो।

गौतमले भन्नुभयो, “अहिलेसम्म हेर्दा अनलाइन कक्षाहरू चलाउँदा खर्च पनि कम हुने देखिएको छ। त्यही भएर विभागदेखि प्रत्येक आङ्गिक क्याम्पसको तहसम्म सानो सूचना प्रविधि इकाइ बनाउन सकिन्छ कि भन्ने योजना बनिरहेको छ।”

त्रिभुवन विश्वविद्यालयका ६२ वटा आङ्गिक सहित विभिन्न विभागहरू अन्तर्गत १ सय १७ वटा शैक्षिक निकायहरू छन्।

त्यसबाहेक त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १ हजार भन्दा बढी कलेजहरूलाई पनि अनलाइनमार्फत् कक्षा सञ्चालन गर्न आग्रह गरिएको रजिष्ट्रार दाहाल बताउनुहुन्छ।

त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धप्राप्त सहितका शिक्षण संस्थामा झण्डै ५ लाख विद्यार्थीहरूले अध्ययन गर्ने गरेको बताइन्छ।(बीबीसीबाट)

Share Now

Leave a comment.