Prakash Adhikari July 5, 2020

काठमाडौं, २१ आषाढ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल राष्ट्रप िविद्यादेवी भण्डारीसंग भेट गर्न शीतल निवास जानुभएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर समसामयिक राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल गर्न शीर्ष नेताहरु शीतल निवास जानुभएको जानकारी दिनुभएको छ।

राष्ट्रपतिसँगको भेटपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीसंग वार्ता गर्न उहाँको सरकारी निवास बालुवाटार जाने कार्यक्रम रहेको छ।

शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै आफ्नो सरकार गिराउन खोजेको र राष्ट्रपति भण्डारीलाई निस्क्रिय पार्न महाधियोग प्रस्ताव ल्याउन लागेको आरोप लगाउदै पार्टी विभाजनको बिन्दुमा पुगेकोले मन्त्रीहरुलाई आफ्नो वा विरोधी कुन कित्तामा जाने हो स्पष्ट हुन आग्रह गर्नुभएको थियो ।

नेकपाका अध्यक्ष द्धय ओली र प्रचण्डबीच आइतबार बिहान १० बजे वार्ता हुने तय भएको थियो।

विरोधी गुटमा रहेका शीर्ष नेताहरु प्रधानमन्त्री िओलीसँगको वार्तालाई रोकेर राष्ट्रपतिलाई शितल निवास जानुभएको हो ।

प्रधानमन्त्री ओलीले विदेशी शक्तिको इशारामा आफूलाई पदबाट हटाउन खोजिएको भन्दै त्यस्तो प्रतिकूल परिस्थिति विकसित भए आफू नझुक्ने बरु नेकपा फुटाउने चेतावनी दिँदै आउनुभएको छ।

गत विहिबार संघीय संसदको बजेट अधिवेशन समाप्त गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेपछि पनि नेकपा अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीसंग भेट गर्नुभएको थियो । सो भेटमा प्रधानमन्त्रीले पार्टीसंग कुनै परामर्श नै नगरेर संघीय संसद विघटन गर्नुभएको र उहाँ पुन: राजनीतिक दल विभाजनलाई सजिलो बनाउने अध्यादेश ल्याउने तयारीमा रहनुभएकोले त्यस्तो विधेयक आएमा राजनीतिक परामर्श लिन र हतारमा कुनै निर्णय नगरिहाल्न सुझाव दिनुभएको थियो ।

सो भेटमा राष्ट्रपति भण्डारीले त्यस्तो अध्यादेशको मस्यौदा आफूसमक्ष नआएको बताउदै आफू संविधान अनुरुप चल्ने बताउनुभएको थियो ।

राष्ट्रपतिले प्रधानमन्त्रीका सिफारिस रोक्ने बचन दिन नसके पछि प्रधानमन्त्री ओलीको विरोधमा रहेको नेकपाका नेताहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल र बामदेव गौतमसहितका नेताहरु राष्ट्रपतिको भूमिका सन्देहास्पद हुन सक्ने निष्कर्षमा पुग्नुभएको थियो ।

विरोधीहरुको यही लघु शंकालाई उपयोग गर्दै प्रधानमन्त्री केपी ओलीले शनिवार अर्को प्रचार युद्ध छेड्नुभयो, पार्टीभित्रैबाट राष्ट्रपतिका विरुद्धमा महाभियोग ल्याउने तयारी गरियो भनेर । उहाँले शनिवार साँझ आफ्नो क्याबिनेटका मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएर महाभियोगको सूचना प्राप्त भएकोले आफूले हठात संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको बताउनुभएको थियो ।

तर सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री ओलीको कार्यशैलीको विरुद्धमा रहनुभएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने मुलुकको राष्ट्राध्यक्ष जस्तो सम्मानित संस्थालाई पार्टी विवादमा तान्नेकाम आफूहरुले नगरेको र कसैले पनि गर्न नहुने बताउनुभएको छ । उहाँले यो दुष्प्रचार मात्र भएको बताउनुभएको छ ।

प्रधानमन्त्री के.पी.ओलीको विरुद्धमा रहेका सचिवालयका ६ सदस्यहरु शनिबार साँझ बसेको बैठकले पार्टी एकताको लागि अधिकतम् लचकता अपनाउने र स्थायी समितिको बैठक आषाढ २२ गतेदेखि सुचारु गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले शनिवार आफ्ना सहयोगी मन्त्री र राज्यमन्त्रीहरु समक्ष राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याएर उहाँलाई निस्क्रिय बनाउने, उपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय बनाउने, झलनाथलाई राष्ट्रपति बनाउने, माधव नेपाललाई प्रधानमन्त्री बनाउने र प्रचण्डलाई एकल पार्टी अध्यक्ष बनाउने योजना अनुरुप काम भैरहेको बताएकोले सो भ्रमलाई चिर्नका लागि तीनै जना नेताहरु राष्ट्रपतिसमक्ष जानुभएको बताइन्छ ।

Share Now

Leave a comment.