काठमाडौं, २१ आषाढ । पार्टीभित्र विकसित राजनीतिक घट्ना क्रम र प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रपतिको सम्मानित संस्थालाई ढाल बनाएर आफ्नो सत्ता जोगाउन गरेको असफल प्रयासको बारेमा राष्ट्र प्रमुख विद्यादेवी भण्डारीसंग सामूहिक भेटवार्ता गरी निस्कनुभएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सीधै बालुवाटार प्रवेश गर्नुभएको छ ।
पार्टीको स्थायी समितिको बैठकमा उठेका विषयमा प्रधानमन्त्री ओलीसंग छलफल गर्न बालुवाटार पुग्नुभएका कार्यकारी अध्यक्ष प्रचण्ड वार्तामा बसिसक्नुभएको बताइन्छ । बालुवाटार सूत्रका अनुसार आजको वार्तामा दुवै अध्यक्षहरुले दुई दुई जना सहयोगीहरु राख्नुभएको छ । प्रधानमन्त्री ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेल तथा कार्यकारी अध्यक्ष प्रचण्डको तर्फबाट मन्त्री वर्षमान पुन र जनार्दन शर्मा बैठकमा सहभागी भैरहनुभएको छ।
शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । उहाँहरु दुवै जनाले पार्टी एकीकरणको समयमा २०७५ जेठ २ गते दुई शीर्ष नेताहरुबीच भएका सहमतिमा समेत हस्ताक्षर गर्नुभएको थियो ।

तर शुक्रबार तीन घण्टासम्म चलेको सो उच्च स्तरीय छलफलमा कुनै निष्कर्ष निस्किएन । प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद त्याग गर्न तयार नरहेकोले सो बाहेकका विषयमा छलफल गर्न आग्रह गर्नुभएको थियो । पद त्यागको कुरा गर्दा उहाँले सबै शीर्ष नेताहरु दोस्रो पुस्ताको नेताहरुलाई पदमा स्थापित गर्न तयार भए सो प्रस्तावमा विचार गर्न सकिने पनि बताउनुभएको थियो ।
प्रधानमन्त्री आलीले आफ्नो विरोध गर्ने नेताहरुले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याउन खोजेको गम्भीर आरोप लगाउदै मन्त्री तथा राज्य मन्त्रीहरुलाई पार्टी विभाजित हुन सक्ने अवस्था विकसित भएकोले आआफ्नो कित्ता छुट्टयाउन अनुरोध गरेपछि सत्तारुढ नेकपाभित्रको राजनीतिक संकट अझ गहिरिएको छ ।
शनिवारका लागि निर्धारित नेकपा स्थायी कमिटी बैठक शुक्रबारको बैठक परिणाममुखी नभएको र शनिवार दुई अध्इक्षाबीचमा टेलिफोन सम्पर्कमात्र भएकोले सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ । त्यसअघि नै सहमति जुटाउन उनीहरुमाथि दबाव छ ।


















