Prakash Adhikari July 5, 2020

काठमाडौं, २१ आषाढ । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ। आइतबार बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ।

काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो। हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ।

मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षणको थालनी गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीले बताउनुभएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा आइतबार पानी छोडिएपछि आयोजना समापनतिरको नयाँ चरणमा प्रवेश गरेको सरकारको दावी छ ।

खानेपानी मन्त्रालयले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी सकिएको जनाएको छ । अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रति सेकेन्ड २६० लिटर पानी सुरुङमा प्रवाह गरिएको छ ।

पहिलो अडिटसम्मको सुरुड.को परीक्षण पूरा भएपछि पूरै सुरड.को परीक्षण गरिनेछ ।

२६ किलोमिटर सुरुङमा हाल छोडिएको दरको पानीले भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने छ । पूर्ण भरिएको सुरुङलाई करिब १० दिन यथास्थितिमा राखिनेछ र त्यसपछि पानी भरिएकै दरमा सुरुङ खाली गरिँदा पुन १५ –२० दिन लाग्न जानेछ ।’

सुरुङ खाली भएपछि सुरुङको अवस्थाको पूर्ण परीक्षण गर्न ७ दिन लाग्ने आयोजनाले जनाएको छ । त्यसबेला केही समस्या देखिएमा समाधान गर्ने र त्यसपछि नियमित रुपमा सुरुङमा पानी छाड्ने आयोजनाको भनाइ छ ।

यसरी सुरुङमा नियमित पानी छाड्न २ महिना बढी समय लाग्ने देखिएको छ ।

इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले यसलाई गति दिएर समापनको चरणतिर ल्याइसकेको छ ।

सुरुड. परीक्षणबाहेक मेलम्ची आयोजनाको पानीको वितरणका लागि पाइप विछ्याएर परीक्षण गर्नेे काम पनि केही क्षेत्रमा सम्पन्न गर्न बाँकी रहेको छ ।

आयोजनको पानी संकलन एवम् प्रशोधन केन्द्रहरुको सफाई र पाइपलाइनको सफाइ र परीक्षणमा पनि करिब ३ महिना लाग्ने अनुमान गरिएको छ ।

काठमाडौंका महाराजगञ्ज, धुम्बाराही, सामाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ । पुरानो पाइपलाइन निकै पुरानो भएकाले ‘लिकेज’को समस्या पनि ठूलो छ ।

सरकारले आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गर्न आगामी वर्ष ५ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ । यसका लागि लार्के खोलाको पानी मेचम्चीमा ल्याएर मिसाउने आयोजना सञ्चालन गरिने छ ।

Share Now

Leave a comment.