पोखरा(कास्की), १० माघ । युनाइटेड सिक्किमलाई परास्त गर्दै धरान एफसी पोखरामा जारी १६ औं आहा १ रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार सम्पन्न खेलमा धरानले युनाइटेड सिक्किमलाई ३–० ले हराउँदै क्वाटर फाइनल प्रवेश गरेको हो ।
धरानले तीनै गोल दोस्रो हाफमा गरेका थियो । खेलको ६३ औं मिनटमा धरानका रोमन लिम्बुले पहिलो गोल गरे भने लगतै ६५ औं मिनटमा, सौजन लिम्बुले दोस्रो गोल गरे । त्यस्तै खेलको ७५ औं मिनटमा धिरेन लिम्बुले थप एक गोल गर्दै धरानको जित सुनिश्चित गरे ।
बुधबारको खेलमा धरानका निशान लिम्बु म्यान अफ द म्याच घोषित भए ।
सहारा क्लब, पोखराको आयोजनामा भैरहेको प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख रुपैया हात पार्नेछ ।