कोइलाबास(दाड.), २९ आषाढ । भारतबाट फेरि सलहको बथान नेपाल प्रवेश गरेको छ । शनिवार र आइतबार सलह दाड.को कोइलाबास क्षेत्र हुँदै नेपाल प्रवेश गरेको किसानहरुले बताएका छन् ।
खेतीवाली र हरिया बनस्पति नास गर्ने सलह दुई साताभित्र नेपालमा दोस्रो पटक प्रवेश गरेको सरकारी अधिकारीहरूले बताएका छन्।
पन्ध्र दिन पहिले पनि नेपालमा सलहका ससाना बगालहरू भित्रिएका थिए।
भारतसँग जोडिएको कोइलाबास हुँदै नेपाल छिरेको सलहको ठूलो समूहले राप्ती गाउँपालिका र गढवा गाउँपालिका २ का कृषकले लगाएको बालीमा क्षति पुर्याएको छ।

कृषकहरूले ठूलो आवाजमा टिन बजाएर र अन्य उपाय लगाएर भगाएका छन्।
यी दुई गाउँपालिकाबाट भगाएपछि सलहको समूह पहाडी भेगतिर लागेको छ। दाङका पहाडी क्षेत्रतर्फ लागेको सलहको समूह प्युठानसम्म पुगेको अनुमान गरिएको छ।
कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत भरतमणि पोखरेलले सलहको यो समूह भारतबाट आइतबार मात्र छिरेको बताउनुभएको छ। उहाँका अनुसार अहिले नेपाल पसेको सलहको बथान पहिलेको भन्दा धेरै ठूलो छ । कृषकहरूले करोडको समूहमा आएको हुन सक्ने जानकारी दिएका छन ।
अहिले हावाको गति पूर्वोत्तर दिशामा रहेकाले भारतबाट सलहको बगाल नेपाल प्रवेश गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कीट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक सुनिल अर्यालले बताउनुभएको छ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले शनिवार सूचना जारी गर्दै सलहबाट सतर्कता अपनाउन आह्वान गरेको छ।
केन्द्रका अनुसार शनिवार बिहान ९:३० बजेतिर भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा बगाल दाङको गढवा गाउँपालिकाबाट नेपाल प्रवेश गरेको हो।
उक्त समूह दिउँसो १ बजेतिर दाङकै राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा पनि देखा परेको थियो।

दाड.को राप्ती र गढवा गाउँपालिकाबाट लखेटिएका सलहको झुण्डहरु दाड.कै पहाडी क्षेत्र र प्युठान, अर्घाखाँचीलगायतका अन्य छिमेकी जिल्लातर्र्फ लागेका छन् ।
हावाको वहाव अनुसार उड्ने भएकोले सलह जतापनि पुग्न सक्ने जनाइएको छ । नेपालमा अहिले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्यपहाडी क्षेत्रमा सतर्कता अपनाउनुपर्ने केन्द्रको भनाइ छ।
थप भित्रिने सम्भावना
केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार वायुको गति मङ्गलवारदेखि केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ।

उहाँले भन्नुभयो, ‘अहिलेकै हावाको मोड रहेमा भोलि र पर्सिमा बिहार हुँदै जनकपुरतर्फबाट र पश्चिममा पनि उत्तर प्रदेश हुँदै कपिलवस्तु र रूपन्देहीतर्फबाट नेपालमा सलह प्रवेश गर्न सक्ने देखिएको छ।’
भारतको राजस्थानतर्फबाट पनि सलहको अर्को ठूलो समूह आउँदै गरेकाले त्यसको खतरा पनि रहेको जानकारी उहाँले दिनुभएको छ।
जुम्ला पुगे पहिलेका सलह
त्यस्तै दुई साताअघि नेपाल प्रवेश गरेका समूहका सलह पनि घाम लागेपछि जुम्लालगायतका जिल्लामा देखा परेको उहाँले बताउनुभएको छ।
केन्द्रका महानिर्देशक प्रमुख सहदेवप्रसाद हुमागाईँले नयाँ समूहबाट हुने खतराबारे प्रदेश र स्थानीय सरकारहरूलाई जानकारी गराइसकिएको बताउनुभएको छ।
उहाँले अहिले नै विषादी प्रयोगबारे नसोचिएको भन्दै आफूहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको जानकारी दिनुभयो।
नेपाल पसेको सलह फर्किन्छ कि हावापानी अनुकूल नभएकोले मर्छ कि यही बसेर सन्तानोत्पादन गर्छ यसको बारेमा पर्याप्त जानकारी नभएकोले किसानहरु भने सलहले खाद्यान्न र तरकारी बाली नास गर्ने भयले चिन्तित छन् ।



















