Prakash Adhikari July 14, 2020

 

अम्बाथान(मेलम्ची,सिन्धुपाल्चोक), ३० आषाढ । सुरुड.को परीक्षण भैरहेको मेलम्ची खानेपानी आयोजनाको अडिट टनेलको गेट (मुख) अप्रत्यासित रुपमा खुलेर आयोजनाको निरीक्षणमा रहेका दुई कर्मचारी मेलम्ची खोलामा बगेर बेपत्ता भएका छन् भने दुईलाई घाइते अवस्थामा उद्धार गरिएको छ।

आयोजनाको मुहानस्थल हेलम्बुमा रहेको अम्बाथान टनेलको गेट मध्याह्न १२ बजेतिर अप्रत्यासित रुपमा खुलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ।

उहाँका अनुसार गेट खुल्दा सुरुङबाट तीव्र वहावमा निस्किएको पानीले बगाएर आयोजनाका इन्जिनियर शतिष गोइत र चालक राधाकृष्ण थापा बेपत्ता हुनुभएको छ।

त्यस्तै इन्जिनियर शेखर खनाल र अर्का प्राविधिक पेम्बादोर्जे तामाङलाई बगिरहेको अवस्थामा सुरक्षाकर्मीले सकुशल उद्धार गरेका थिए।

घाइतेलाई हेलिकोप्टरबाट उपचारको लागि राजधानीको ग्राण्डी अस्पताल पुर्याएको बताइएको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले चारै जना सुरुड. परीक्षणको निरीक्षण्मा रहनुभएको बताउनुभएको छ ।

ठूला आयोजनाको लामो सुरुड. निर्माण गर्दा बीचबीचबाट पनि सुरुड.को काम गरिन्छ । बीचमा छेडेर मुख्य सुरुड.को काम गर्न जाने छड्के सुरड.को मार्गलाई अडिट टनल भनिन्छ ।

आयोजनाले असार २१ गते साढे २६ किलोमिटर लामो सुरुङमार्गमा मुहानस्थलबाट पानी प्रवेश गराएर परीक्षण थालेको थियो। पानी पथान्तरणको १० औँ दिनमा सुरुङको पहिलो गेट (मुहानस्थलबाट) खुलेको हो।

गेट खुलेपछि सुरुङमा रहेको सबै पानी मेलम्ची खोलामा निस्किएको प्रवक्ता पन्तले जनाए। सुरुङ भरिन २० दिन लाग्ने अनुमानका साथ मेलम्चीको पानी सुरुड.मा लगिएको थियो । ‘सुरुङको कहाँसम्म पानी आइपुगेको थियो त्यो सुरुङ भरिएर को सुन्दरीजलमा पानी खसेपछि मात्र थाहा हुन्थ्यो । सुन्दरीजलमा पानी भरिनुपूर्व नै अडिट टनलको गेट फुटेर सबै पानी त्यहीबाट निस्कन पुगेकोले आयोजनाको सुरुड. परीक्षण र सुन्दरीजलमा पानी खसाउने तालिका प्रभावित हुने भएको छ ।

यस अगाडि मेलम्चीको सुरुड.को मुहानदेखि ८०० मिटरसम्म पानी पठाएर सफल परीक्षण गरिएको थियो । आयोजनाका प्राविधिकहरुले सुरुड.भित्र ८०० मिटरपछि १७ नम्बर गेटसम्म बालुवा थिग्राउने डिसेण्डिड. पोखरी भएको बालुवा थिग्रिएपछि सफा पानी सुरुड.बाट सुन्दरीजल तिर जाने र थिग्रिएको बालुवा अडिट टनलबाट फ्लस आउट गरिने ढंगले सुरुड.को निर्माण भएको बताएका छन् ।

अडिट टनलको गेट हावाको चापका कारण खुल्न गएको हो वा प्राविधिहरुले असावधानीवस बालुवा फ्लस आउट गर्न खोज्दा खुलेर दुर्घटना हुन गएको हो , आयोजनाले यसबारेमा कुनै जानकारी दिएको छैन् ।

हावाको चाप व्यवस्थापनको लागि सुरुङमा भेन्टिलेसनसमेत राखिएको थियो।

आयोजनाले सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमान गरेको थियो। यो घटनाले मेलम्चीको सुरुड.परीक्षण र मेलम्ची पानी राजधानीमा पुर्याउने कार्यतालिका प्रभावित हुन सक्ने बताइएको छ।

Share Now

Leave a comment.