काठमाडौं, २ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। आज विहान ११ बजे बस्ने भनिएको बैठक अपरान्ह ३ :०० बजेसम्मका लागि सारिएको थियो ।
तीन बजेका लागि बोलाइएको बैठक साउन ४ गते अपरान्ह तीन बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत जानकारी दिनुभएको छ।
बैठक स्थगित भए पनि दुवै अध्यक्षहरु वार्तामा बस्नुभएको थियो ।
दलका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको छलफलमा स्थायी समितिको बैठक स्थगित गर्दै शनिवार सचिवालयको बैठक निर्णय गरिएको हो।
स्थायी समितिका सदस्यहरुबीचमा प्रधानमन्त्री ओलीले पार्टीको नीति निर्माणमा निर्णायक मानिने स्थायी समितिको बैठक टार्न खोज्नुभएको देखिएकोले केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्दछ भन्ने मत विकसित भैरहेको बेलामा दुई अध्यक्षबीचमा सचिवालय बैठक बोलाउने सहमतिले स्थायी समितिका अधिकांश सदस्यहरु आश्चर्यचकित भएका छन् ।
यद्यपि नेपाल कम्युनिष्ट पार्टीको सचिवालयमा पनि बहुमत सदस्य प्रधानमन्त्री ओली बिरुद्धको प्रचण्ड,माधव खनाल समूहमा छन् । सचिवालयको निर्णय प्रधानमन्त्री ओलीले सोचे अनुकूल र स्थायी समितिको बैठकमा उठेका भावना प्रतिकूल जान सक्ने संभावना कम छ ।

गत आषाढ १० गते आरम्भ भएको बैठक आषाढ १८ गतेदेखि स्थगित भएको छ । आषाढ २६ गतेका लागि निर्धारित बैठक देशमा बाढी पहिरोको विपत्ति आइलागेकोले सम्पूर्ण पार्टी पडि.तलाई उद्धार र राहत कार्यमा लाग्न आह्वान गर्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
बाढी पहिरोलाई कारण देखाइए पनि पार्टीका संयुक्त अध्यक्ष र शीर्ष नेताहरुलाई, पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समिति तथा संंसदीय दललाई समेत उपेक्षा गरी निर्दलीय ढंगले सरकार सञ्चालन गरेको अनुभूति गरेका स्थायी समितिका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई बृद्धावस्था र दीर्घ रोगका कारण सक्रिय राजनीतिबाट विश्राम लिएर अभिभावकीय जिम्मेवारी बहन गर्न सुझाव दिएपछि त्यसलाई छल्न प्रधानमन्त्री ओलीकातर्फबाट रचिएको बाहाना मात्र थियो भन्ने पुष्टि भएको छ ।

प्रधानमन्त्री ओलीले जारी स्थायी समितिको बैठकको माहोल आफ्नो अनुकूल नभएपछि त्यसलाई भड्काउन आषाढ १४ गते बालुवाटारमा आयोजित मदन भण्डारी जन्मजयन्तीको विशेष कार्यक्रममा आफूलाई भारतले हटाउन खोजेको र आफ्नै पार्टीका नेताहरु त्यसको एजेण्टको रुपमा प्रस्तुत भएको आरोप लगाउनुभएको थियो । त्यसपछि उहाँको राजिनामामा केन्द्रित भएको स्थायी समितिको बैठकलाई निस्तेज पार्न उहाँले पार्टीका सहअध्यक्ष, सचिवालय, स्थायी समिति र अन्य शीर्ष नेताहरुलाई पनि सुईको समेत नदिइकन आफ्नै निवासमा क्याविनेट बैठक गरेर संसदको बजेट अधिवेशन अकास्मात अन्त्य गर्न राष्ट्रपतिमा सिफारिस गर्नुभयो ।
यो कदमले राकिएका आफ्ना विरोधीलाई चिढ्याउन उहाँले त्यसै दिनदेखि देशव्यापी रुपमा आफ्नो समर्थनमा प्रदर्शन गर्न लगाउनुभयो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री ओलीको राजिनामा माग्नेलाई विदेशी दलाल भनेका छन् ।
यसरी ध्रुवीकरण हुँदै नेकपाभित्रको राजनीतिलाई सम्हाल्न नेकपाका अर्का अध्यक्ष प्रचण्डले मंगलबार र बुधबार एक्ला एक्लै प्रधानमन्त्रीसंग वार्ता गरेपछि बिहिबार शीर्ष नेता माधवकुमार नेपाललाई समेत राखेर प्रधानमन्त्रीसंग कुरा गर्नुभएको थियो । महासचिव विष्णुु पौडेल र जनार्दन शर्माले पनि सहभागिता जनाउने मौका पाउनुभएको सो बैठकमा दुवै पक्षको अडान यथावत रहेको बताइएको थियो ।

प्रधानमन्त्री ओलीले दुवै पद त्याग्न रुचि देखाउनुभएन भने अर्का अध्यक्ष प्रचण्ड र शीर्ष नेता नेपालले उहाँबाट दुवै पदको गरिमा कायम राखेर मुलुकको आवश्यकता अनुरुप काम हुन नसकेकोले अबिलम्ब त्याग गर्न दवाव दिनुभयो ।
असहमतिका बीचमा पनि आज निर्धारित बैठक सुचारु गर्ने सहमति कायम गरेका नेताहरुले आज ११ बजेको निर्धारित बैठक ३ बजेलाई सार्नुभएको थियो । त्यसपछि दुई अध्यक्ष वार्तामा बस्नुभयो र बैठक दुइदिन पछि पुर्याइयो ।
दुई नेताहरुबीच सहमति नहुने र सहमति बिना बैठक बोलाउदा पार्टी बिग्रहतर्फ जाने भएकोले नेकपाका नेताहरु हैरान भएका छन् ।


















