काठमाडौं, २ साउन । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा थप १०१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
यो संगै यस घातक भाइरसको संक्रमणमा परेर मृत्यु हुनेहरुको संख्या ४० पुगेको छ भने कुल संक्रमितको संख्या साढे १७ हजारको निकट पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ४ सय ४५ पुगेको जानकारी दिएको छ।
तीमध्ये ११ हजार ५ सय ३४ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
विगत २४ घण्टामा २ सय ८५ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको छ।
डा. गौतमका अनुसार अहिले सङ्क्रमण भएका कुल ५ हजार ८ सय ७१ मानिस देशभरि आइसोलेशनमा छन्।
गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।
कोरोनाभाइरस
बिहीवार १६७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारेन्टाइनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।
को हुन् मृतक ?
मृतक सप्तरी निवासी ७३ वर्ष पुरुष भएको मन्त्रालयले जनाएको छ।
डा. गौतमका अनुसार मुटुको दीर्घ रोगबाट पीडित थिए र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत असार ३१ गते भर्ना गरिएको थियो।
त्यहाँ परीक्षण गर्दा उनमा कोभिड-१९ पुष्टि भएको थियो।
भेन्टिलेटरमा राखी उपचार भइरहँदा उनको साउन १ गते राति मृत्यु भएको हो।
विगत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ६ सय ८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले ३ लाख ८ हजार ४ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
साउन २ गते शुक्रवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क
- १७,४४५ कुल सङ्क्रमण
- २८५ विगत २४ घण्टामा भाइरसमुक्त
- विगत २४ घण्टामा पीसीआर परीक्षण ४,६८८
- सक्रिय सङ्क्रमित ५,८७१
- देशभरि क्वारन्टीनमा २२,७५६
- अहिलेसम्म निको ११,५३४
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
शुक्रवार पुष्टि भएका सङ्क्रमितमध्ये लमजुङका २२, रोल्पाका १३ र बर्दियाका १० जना छन्।
अहिले देशभरिका क्वारेन्टाइनमा मानिसको सङ्ख्या २२ हजार ७ सय ५६ मात्रै छ।
अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारेन्टाइनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।


















