काठमाडौं, १३ साउन । आजको लागि निर्धारित गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी(नेकपा)को स्थायी समितिको बैठक पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि पार्टीमा तीव्र असन्तोष फैलिएको छ ।
बैठक विहान ११ बजे बोलाइएको बैठकको अध्यक्षता गरी बैठकका लागि हाउसले निर्धारण गरेका एजेण्डामा छलफल गर्ने उच्च आकांक्षासहित बैठकस्थल बालुवाटार प्रस्थान गर्नुभएका पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले बाटोमा नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पठाउनुभएको स्थायी कमिटी बैठक स्थगित भएको सन्देश पाउनुभएको थियो।
https://www.facebook.com/surya.thapa.754918/posts/3193902767368872
पार्टी प्रचार विभागका उपप्रमुख समेत रहनुुभएका थापाले फेसबुकमा , ‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ ।’भन्ने सन्देश पोष्ट गर्नुभएको थियो ।
तर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय नेताहरले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच यसबारे परामर्श नै नभएको बताउनुभएको छ।
उहाँहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको उल्लेख गर्दै भन्नुभएको छ, ‘बैठक स्थगित गर्न न्यूनतम पनि दुई अध्यक्षको बीचमा छलफल हुनुपर्छ, तर उहाँले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु भएको रहेछ ।’
पार्टीका प्रवक्ता समेत रहनुभएका पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बैठकका लागि भनेर प्रचण्डसहितका नेताहरु बालुवाटारमा पुगिसक्नुभएको र स्थायी समितिका सदस्यहरु बालुवाटारको बैठक कक्षमै भएको बताउदै भन्नुभएको छ कुनै अध्यक्षले एकतर्फी निर्णय गरेको भरमा बैठक स्थगित हुँदैन ।
अध्यक्ष क• के पी ओलीले पनि बैठकमा उपस्थित भएर आफ्नो बिचार राख्नु पर्छ र पार्टीको निर्णय मान्छु भन्नुपर्छ।पार्टी एकताको रक्षा र यथास्थितिमा गुणात्मक परिवर्तन गर्ने गरी निकास निकाल्नु पर्छ।समस्या र छलफल मुलत: प्रवृत्तिको हो, ब्यक्तिको होइन ।https://t.co/D8wYvWlnmA
— Narayan Kaji Shrestha Prakash (@narayankajis) July 28, 2020
प्रवक्ता श्रेष्ठले बैठक स्थगित गरिएको सूचना समेत सबै सदस्यलाई नपठाइएको बताउनुभएको छ ।
पार्टीको दैनिक कामकाज सञ्चालन गर्ने सचिवालय र स्थायी समितिमा समेत अल्पमतमा पर्नुभएका प्रधानमन्त्री ओली स्थायी समितिको बैठकले आफू बिरुद्ध कुनै निर्णय गरिहाल्छ कि भनेर आत्तिनुभएको छ ।
सोमबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको प्रधानमन्त्री ओली विरोधी समूहका शीर्ष नेताहरुको बैठकले सहमति भए पनि नभए पनि स्थायी समितिको आजको लागि निर्धारित बैठक सुचारु गर्ने र भरिसक्य सहमतिमा नभए लोकतान्त्रिक पद्धति अनुरुप बहुमतीय पद्धतिको आधारमा निर्णय लिएर पार्टीलाई देश र जनताको हित अनुकूल सञ्चालन गरी पार्टी संगठन बजबूत बनाउने निर्णय गरेको थियो ।

प्रतिकूल बन्दै गएको परिस्थिति आफू अनुकूल बनाउन प्रधानमन्त्री ओलीले साम,दाम दण्ड र भेदको नीति अख्तियार गर्न छोड्नु भएको छैन । यसका लागि उहाँले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई फेरि पनि उल्लू बनाउदै हुनुहुन्छ । यसको प्रस्ताव उहाँले सार्वजनिक गर्नुभएको नयाँ ६ बूँदे प्रस्ताव नै यथेष्ठ छ । बामदेवलाई भड्काएर आफ्नो पक्षमा ल्याएपछि विरोधी खेमालाई कमजोर बनाउन सकिने प्रधानमन्त्री ओलीको बुझाइ छ । यसैकारण बैठक स्थगित गरिएको बताइन्छ ।


















