Prakash Adhikari July 28, 2020

 

क्वालालम्पुर(मलेशिया), १३ साउन । मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाक लाखौँ डलर भ्रष्टाचार भएको एउटा मुद्दामा दोषी ठहर हुनुभएको छ।

भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उहाँविरुद्ध लागेका सातवटै अभियोगमा नजिब दोषी भएको ठहर गरेको हो।

उहाँले आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू अस्वीकार गर्नुभएको थियो।

उक्त मुद्दालाई मलेशियाको कानुनी शासन स्थापना र भ्रष्टाचार नियन्त्रणको प्रयासको महत्त्वपूर्ण परीक्षा मानिएको थियो।

मलेशियाको वनएमडीबी नामक कोष अपचलन काण्डले विश्वभरि भएका जालसाजी र भ्रष्टाचारलाई उजागर गरिदिएको छ।

उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले सबै प्रमाणका आधारमा अभियोजन पुष्टि भएको घोषणा गरेका हुन्।

कस्ता-कस्ता आरोप थिए ?
मङ्गलवारका फैसलाहरू सरकारी कोषबाट तात्कालिक प्रधानमन्त्रीका निजी खाताहरूमा चार करोड २० लाख रिङ्गिट (झन्डै एक करोड अमेरिकी डलर) सारेको विषयसँग सम्बन्धित छन्।

नजिब सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री हुनुहुन्थ्यो।

उहाँले आफूले गल्ती नगरेको बताउँदै आफ्ना आर्थिक सल्लाहकारहरूले झुक्याएको दाबी गर्नुभएको छ। उहाँका अनुसार फरार भएका झो लूले उहाँलाई भ्रममा पार्नुभएको थियो।

समर्थक

समर्थक तस्बिर
झो लूलाई अमेरिका र मलेशियामा मुद्दा चलाइएकको छ। तर उहाँले पनि आफू निर्दोष भएको बताउँदै आउनुभएको छ।

नजिबका वकिलहरूले उहाँको खातामा आएको रकम साउदी राजपरिवारबाट चन्दा आएको बताउनुभएको थियो।

नजिबलाई प्रत्येक अभियोगका लागि १५ देखि २० वर्ष कारागार हुनसक्छ।

यसअघि नजिबले आफ्नो विपक्षमा फैसला आए पुनरावेदन गर्ने बताउनुभएको थियो।

के हो वनएमडीबी प्रकरण ?

क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर सन् २००९ मा रजाकले वनएमडीबी स्थापना गर्नुभएको थियो।

तर सन् २०१५ को आरम्भतिर ब्याङ्क एवम् बन्डमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि सो परियोजनाबारे संशय व्यक्त हुन थालेको थियो।

त्यति बेला नै वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर रजाकका निजी ब्याङ्क खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो।

नजिब रजाकविरोधी प्रदर्शन

नजिब रजाकविरोधी प्रदर्शन

तर रजाकले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गर्दै आउनुभएको छ। सो कोषमा करोडौँ डलरको लेखाजोखा नभएको बताइन्छ।

सत्तारूढ हुँदा सम्बन्धित निकायहरूले रजाकलाई सफाइ पनि दिएका थिए।

तर उहाँविरुद्ध केही देशमा अनुसन्धान हुँदै आएको थियो।

देश छोड्न रोक र पक्राउ

दुई वर्षअघि निर्वाचनपछि उहाँलाई देश छोड्न प्रतिबन्ध लगाइएको थियो।

पछि जुलाई महिनामा उहाँलाई पक्राउ गरियो।

त्यसअघि रजाक र उहाँकी पत्नी रोज्मा मान्सरसँग सम्बन्ध देखिएका स्थानहरूमा प्रहरीले छापा मारेको थियो।

प्रहरीले छापा मार्दा २७.३ करोड अमेरिकी डलर मूल्य भएका विलासिताका सामग्री र नगद भेटेको थियो।

तिनमा गरगहनाको भाग ठूलो थियो।

Share Now

Leave a comment.